२०८३ भाद्र १६, मंगलबार    

हेटौंडामा देखिएन वन्दको प्रभाव, यातायात पूर्णरुपमा सञ्चालन

२०७८ फाल्गुन ४, बुधबार ११:१४ बजे

हेटौंडा/ अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आव्हान गरिएको नेपाल बन्दको प्रभाव हेटौंडामा असाध्यै कम देखिएको छ ।

हेटौंडा बजार क्षेत्रको व्यवसाय र विद्यालयको पठनपाठनबाहेक अन्य सेवाहरु सवै पूर्णरुपमा सञ्चालनमा रहेका छन् । सरकारले एमसीसी अनुदान सदनमा टेवुल गर्न लागेको भन्दै नेत्रबिक्रम चन्द ‘विप्लव’ सहितका ५ दल र एउटा मोर्चाले घोषणा गरेको बन्दको प्रभाव हेटौंडामा आंशिक मात्र देखिएको छ ।

विप्लव’ सहितका ५ पार्टी र एउटा मोर्चाले बुधबार साँझसंयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता संसदमा टेवुल गर्न नदिन नेपाल बन्दको घोषणा गरेका थिए ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बन्दको आव्हान गरेको हो ।

लामो दुरीका सवारी साधन पनि गुडेका छन् । छोटो दुरीका सवारी साधन अटो, मयुरी र मोटरसाइकलहरु मुख्य बजार क्षेत्रमा पनि गुडिरहेका छन् । बजार क्षेत्रमा कतैपनि आन्दोलनकारीको उपस्थिति देखिँदैन । बजार क्षेत्र र विभिन्न चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । अहिलेसम्म कुनैपनि अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । आन्दोलनकारीले विहान विरोध र्‍याली निकालेका थिए ।