२०८१ जेठ ४, शुक्रबार    

म्याक्सेवलसामू सन्दिप लामिछाने निरीह

२०७८ माघ ५, बुधबार १६:४१ बजे

 

काठमाडौं/  नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१–२२ को लिगको अन्तिम खेलमा आफ्नो पूर्व टोली मेलबर्न स्टार्सविरुद्ध खराब प्रदर्शन गरेका छन् । ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई २ सय ७४ रनको विशाल कीर्तिमानी लक्ष्य दिएको छ ।

मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ थालेको स्टार्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ७३ रन बनायो । ग्लेन म्याक्सवेल ६४ बलमा २२ चौका र ४ छक्कासहित १ सय ५४ रनमा अविजित रहे । मार्कस स्टोइनिस ३१ बलमा ४ चौका र ६ छक्कासहित ७५ रनमा अविजित रहे ।

यो बिग ब्यास इतिहासकै सर्वाधिक ठूलो योगफल र व्यक्तिगत उच्च प्रदर्शन हो । यसअघि बिग ब्यासमा उच्च योगफल सिड्नी थन्डरले सिड्नी सिक्सर्सविरुद्ध गतवर्ष ५ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । व्यक्तिगत उच्च प्रदर्शन मेलबर्न स्टार्सकै मार्कस स्टोइनिसले २०२० मा सिड्नी सिक्सर्सविरुद्ध १ सय ४७ रनको अविजित इनिङ खेलेका थिए ।

म्याक्सेवलले ४१ बलमा शतक पूरा गरेका थिए । म्याक्सवेलको यो बिग ब्यास करिअरको दोस्रो शतक हो । जो क्लार्क १८ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । पहिलो विकेटका लागि जो क्लार्क र ग्लेन म्याक्सवेलले ७ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । दोस्रो विकेटका लागि ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिसले १ सय ३२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।
सन्दीपले ४ ओभरमा ५२ रन खर्चिदा कुनैपनि विकेट लिन सकेनन् ।