२०८१ बैशाख ११, मंगलबार    

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०७९ आश्विन २७, बिहीबार ११:३२ बजे

बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बिहीबार घटनाको अनुसन्धानका लागि सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको उनका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

यसअघि जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराएको थियो । दसैं बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमबार मात्रै म्याद थपका लागि अदालत लगिएको थियो ।

गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्‍याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् । होटलमा बसेको भोलिपल्टै लामिछाने केन्यासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।

केन्यासँग ट्वान्टी–२० पछि एकदिवसीय शृंखला पनि भएको थियो तर लामिछाने उक्त शृंखला नखेली क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बेस्ट इन्डिज पुगेका थिए । लामिछाने वेस्ट इन्डिजमै रहँदा भदौ २२ मा उनीविरुद्ध प्रहरीमा बलात्कार आरोपमा जाहेरी दर्ता भएको थियो । त्यसको भोलिपल्ट काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।