२०८१ बैशाख २८, शुक्रबार    

सेनेगल पहिलोपटक अफ्रिका कप अफ नेसन्सको च्याम्पियन

२०७८ माघ २४, सोमबार ०८:२८ बजे

सर्वाधिक सफल इजिप्टलाई हराउँदै सेनेगल पहिलोपटक अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनेको छ । सेनेगलले इजिप्टलाई टाइब्रेकरमा ४–२ ले हराउँदै पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो ।

निर्धारित समयमा कुनै गोल निस्नक नसकेपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ साडियो मानेले गोल गरे । तेस्रो पेनाल्टीमा बोउना सार चुकेका थिए । इजिप्टका जिजो र मारवान हान्डीले गोल गर्न सफल हुदा दोस्रो पेनाल्टीमा मोहम्मेद एब्डेलमोनेम र चौथो पेनाल्टीमा मोहनाद लासिन चुकेका थिए ।

त्यसअघि ओम्निस्पोर्ट्स पउल याओन्डेमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको सातौ मिनेटमा नै साडियो माने पेनाल्टीमा चुक्दा सेनेगलले अग्रता लिने अवसर खेर फालेको थियो । सालिओउ सिसलाई पेनाल्टी बक्समा मोहम्मेद एब्डेलमोनेमले फउल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी प्रदान गरेको थियो । तर मानेको पेनाल्टीलाई इजिप्टका गोलरक्षक मोहमेद एवाउगवालले बचाएका थिए । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल टाइ ब्रेकरमा लम्बिएको थियो ।

सेनेगलले तेस्रोपटक फाइनल खेल्दै पहिलोपटक च्याम्पियन बनेको हो । सन् २००२ मा क्यामरुनसँग टाइब्रेकरमा ३–२ ले पराजित भएको सेनेगल सन् २०१९ मा अल्जेरियासँग १–० ले पराजित हुँदै उपाधिबाट वञ्चित बन्नुपरेको थियो । तर यसपटक सेनेगल च्याम्पियन बन्न सफल भयो ।

यता, सेनेगलसँगको हारसँगै इजिप्टको आठौंपटक च्याम्पियन बन्ने सपना अधुरै रह्यो । इजिप्टले १० पटक फाइनल खेल्दा ७ पटक उपाधि जितेको छ । सन् १९५७, १९५९, १९८६, १९९८, २००६, २००८ र २०१० मा च्याम्पियन बन्न सफल भएको इजिप्ट १९६२, २०१७ र यसपटक उपाधिबाट वञ्चित बन्यो । ९ जनवरीदेखि क्यामरुनमा सुरु भएको अफ्रिका कप अफ नेसन्समा २४ टोलीको सहभागिता रहेको थियो । हरेक टोलीका शीर्ष दुई टोलीसँगै उत्कृष्ट तेस्रो हुने चार टोलीले नकआउट चरणमा स्थान बनाएको थियो ।