२०८१ बैशाख २१, शुक्रबार    

नेपाल बन्द : मकवानपुर जिल्लामा मन्दमन्द

२०७८ फाल्गुन १६, सोमबार १८:५४ बजे

हेटौंडा/ एमसीसी पारित भएको विरोधमा आयोजना गरिएको नेपाल बन्दको प्रभाव मकवानपुरमा मन्दमन्द देखिएको छ ।

सरकारले आइतबार एमसीसी पारित गरेको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितको ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले सोमबार नेपाल बन्दको आयोजना गरेको थियो । मकवानपुरमा भने बन्दको प्रभाव केही आंशिक परेको देखियो । हेटौंडा बजारका पसलहरु प्राय: बन्द रहेपनि छोटो दुरीका सवारी साधनहरु भने गुडेका थिए ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले हेटौंडा–१५ रातोमाटेस्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगको गाडीमा आगजनी गरेका थिए । बिहान करिब ११ बजेको समयमा मोटरसाइकलमा आएको एक समूहले रिद्धिसिद्धि सिमेन्टको प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको बल्करमा पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । आगलागीबाठ बल्करमा क्षति पुगेको छ ।

बन्दकर्ताहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९, बस्तीपुरमा ना ६ ख ३४९१ नम्बरको ट्रकको सिसा फुटाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बन्दकर्ताहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको विभिन्न स्थानमा टायर बालेर विरोध जनाएका थिए । बन्दको समयमा क्षति नहोस् भन्दै मकवानपुर प्रहरीले राजमार्गमा बाक्लो संख्यामा प्रहरी परिचालन गरेको थियो ।