२०८१ जेठ ४, शुक्रबार    

नेपालको फराकिलो जित

२०७८ फाल्गुन ७, शनिबार १५:०६ बजे

ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्समाथि १ सय ३६ रनको फराकिलो जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।

२ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रन बनायो । नेपालको टि२० आईमा रनको आधारमा यो तेस्रो ठूलो जित हो । टि२० आईमा गत वर्ष त्रिकोणात्मक टि२० आईको फाइनलमा घरेलु मैदान टियुमा नेपालले नेदरल्यान्डलाई १ सय ४२ रनले हराएको थियो । जुन नेपालको सर्वाधिक ठूलो जित हो ।

फिलिपिन्सका ओपनर ड्यानियल स्मिथले २७ बलमा २ चौकासहित २० रन बनाए । जोर्डन अलेग्रा ३२ बलमा २ चौका सहित सर्वाधिक २७ रनमा अविजित रहे । कप्तान जोनाथन हिलले २९ बलमा ११ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

फिलिपिन्सका ओपनर कपिल कुमारलाई दोस्रो ओभरको तेस्रो बलमा जितेन्द्र मुखियाले ४ रनमा सन्दीप लामिछानेबाट क्याच गराए । नवौं ओभरमा सन्दीपले दुई विकेट लिए । नवौं ओभरको पहिलो बलमा ड्यानियल स्मिथलाई आसिफ शेखबाट २० रनमा स्टम्पिङ आउट गराए । स्मिथले २७ बलमा २ चौका प्रहार गरे ।

अन्तिम बलमा सन्दीपले ह्यारी टेलरलाई १ रनमा बोल्ड आउट गरे । ११ औं ओभरको दोस्रो बलमा सन्दीपले रिचार्ड गुडविनलाई आसिफबाट शून्यमा स्टम्पिङ आउट गराए । सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । नेपालका अभिनाश बोहरा, गुलशन झा, कुशल मल्ल, जितेन्द्र मुखिया र दीपेन्द्रसिंह ऐरीले –१ विकेट लिए ।

त्यसअघि मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो । ओपनर कुशल भुर्तेल ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले । कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका गरेका थिए । कुशल नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन् ।