२०८१ बैशाख २४, सोमबार    

हेटौंडामा मछिन्द्रका चार खेलाडीले मनाङबाट खेल्ने

२०७९ जेठ २३, सोमबार १४:५६ बजे

लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका चार खेलाडीले मनाङ मर्स्याङ्दी क्लबबाट चौंथो स्थानीय तह सहिद स्मृति चौथो मकवानपुर गोल्डकप प्रतियोगिता खेल्ने भएका छन् ।

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर विशाल राई, विंगर सुजल श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठले मनाङबाट मकवानपुर गोल्डकप खेल्न लागेका हुन् । उक्त गोल्डकपमा मछिन्द्रले नखेलेका कारण उनीहरुले मनाङबाट खेल्न पाएका हुन् ।

यि चारै खेलाडी लिग च्याम्पियन मछिन्द्रमा आबद्ध छन् । विशाल, सुजल र गोलरक्षक विशालले २०१९ को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ छाड्दै मछिन्द्र फुटबल क्लबमा आबद्ध भएका थिए । त्यसयता यि खेलाडीले पहिलोपटक मनाङको जर्सीमा खेल्न लागेका हुन् ।

विमलले यसअघि मनाङबाट पनि मोफसलको गोल्डकप खेलिसकेका छन् । यि चार खेलाडीसँगै पुजन होना पनि मनाङमा आबद्ध भएका छन् । लिग लगत्तै कमल श्रेष्ठ र शिशिर लेखीले मनाङबाट मोफसल खेलिसकेका छन् । यसअघि मनाङमै रहेका रन्जन विष्ट, फ्लोरेन्ट कोरा र अमिर केसी पनि मनाङमै फर्किएका छन् ।

पुजन र रन्जनले गत लिगमा न्युरोड टिम एनआरटीबाट खेलेका थिए । कमलले च्यासल, शिशिरले बीबीसीबाट खेलेका थिए । कमल र शिशिर खप्तड गोल्डकपबाटै मनाङसँग रहेका छन् ।

मनाङले मंगलबार क्वाटरफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग असन्तुष्टि जनाएपछि उनीहरुसहित १० जना खेलाडीले राष्ट्रिय टिमको क्याम्प छोड्न बाध्य बनेको थियो । प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

मकवानपुर गोल्डकपलाई मनाङको टोली
विशाल श्रेष्ठ (गोलरक्षक), पुजन होना (गोलरक्षक), अन्जन विष्ट, कमल श्रेष्ठ, फ्लोरेन्ट कोरा, दिनेश राजवंशी, प्रवेश कुँवर, आदित्य चौधरी, एकराज बुढाथोकी, अमिर केसी, रुपेश केसी, नितिन थापा, विशाल राई, सुजल श्रेष्ठ, शिशिर लेखी, रन्जन विष्ट, विमल घर्ति मगर, दिपक राई