२०८१ बैशाख ३०, आईतबार    

अधिकांश कोरोना संक्रमित घरमा, वेवास्ता गर्दै स्थानीय तह

२०७८ माघ २, आईतबार ०९:०२ बजे

हेटौंडा/ वाग्मती प्रदेशका करिब ९५ प्रतिशतभन्दा बढी कोरोना सक्रिय संक्रमित होम आइसोलेसमै बसिरहेका छन् । स्वास्थ्यकर्मीका अनुसार प्रदेशका अधिकांश कोरोना संक्रमितहरु सिटामोल औषधीको भरमा घरमै उपचाररत् छन् ।
दैनिकजसो कोरोना संक्रमित बढेपनि उपचारका लागि अस्पताल जाने वा संस्थागत आइसोलेसनमा बस्ने संक्रमितको संख्या ज्यादै न्यून रहेको वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कुल सक्रिय संक्रमितमध्ये १४ हजारभन्दा बढी व्यक्ति होम आइसोलेशन बसेका छन् । कुल १५ हजार ३३८ जना सक्रिय संक्रमितमध्ये १४ हजार ७०३ जना होम आइसोलेशनमा बसेका छन् । अन्य संक्रमित भने प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा उपचाररत छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ६३३ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् भने जेनरल आइसोलेशनमा २२८ जना, एचडीयूमा ३१४ जना, आइसीयूमा ७५ जना र भेन्टिलेटरमा १६ जना छन् ।

मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार संक्रमितको स्वाब परीक्षण गर्ने र उपचार गर्ने जिम्मेवारी जिल्ला अस्पतालाई दिइएको छ । ‘हामीले जिल्ला अस्पतालमा संक्रमितको उपचार गर्ने व्यवस्था मिलाएका छौं भने उनीहरुसँग समन्वय गर्ने जिम्मेवारी जिल्ला स्वास्थ्य कार्यालयलाई तोकेका छौं ।’, प्रवक्ता अधिकारीले भने । संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने जिम्मेवारी संघ र प्रदेश सरकारले स्थानीय तहलाई सुम्पिएको छ । तर, स्थानीय तहले आफूहरुलई पूर्णरुपमा वेवास्ता गरिरहेको संक्रमितहरुले बताइरहेका छन् ।

कोरोनाको पहिलो लहरमा संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र आवश्यक उपचारका लागि स्थानीय तह सक्रिय भएपनि पछिल्लो दिनहरुमा पूर्णरुपमा निस्क्रिय रहेका छन् । हाल स्थानीय तहसँग संक्रमितको तथ्यांक समेत छैन । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमित दर बढेपछि आइसोलेसन सञ्चालन गर्ने माग समुदायस्तरबाट आएपनि ठोस निष्कर्षमा आफूहरु पुगिनसकेको बताए ।

‘कोरोनाको पहिलो र दोस्रो लहरमा हामी जसरी सक्रिय भएका थियौं अहिले छैनौं ।’, चौलागाईंले संक्रमित बढेपछि अब कसरी अगाडि बढ्ने भनेर स्थानीय तहबीच समन्वय हुन बाँकी रहेको बताए । उनका अनुसार आइसोलेसन कहाँ र कसरी सञ्चालन गर्ने निचोडमा स्थानीय तह पुगिनसकेको बताए ।

कोरोना संक्रमितको पहिचान गरी आवश्यक उपचार गर्न प्रदेशको १३ जिल्लामध्ये रसुवाबाहेक सवैमा स्वाब परीक्षण गर्न पीसीआर ल्याब स्थापना गरिएको मन्त्रालयको दावीछ । ‘रसुवामा पीसीआरक ल्याबको आवश्यकता नदेखिएका कारण स्थापना नगरेका हौं । हामीले दैनिकरुपमा जिल्ला अस्पतालमार्फत् स्वाब परीक्षण र उपचारको व्यवस्था मिलाएका छौं ।’, मन्त्रालयका प्रवक्ता अधिकारीले भने । उनका अनुसार रसुवा जिल्लामा संकलन गरिएको स्वाब नुवाकोटमा परीक्षण हुनेछ ।

मन्त्रालयले अक्सिजनको अभाव नहोस भनेर १२ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरिसकेको उनले बताए । ‘धादिङमा दुईवटा अक्सिजन प्लान्ट रहेका छन् । जसमध्ये एउटा रसुवामा जोड्ने तयारी भइरहेको छ ।’, उनका अनुसार रसुवामा संक्रमितको संख्या ज्यादै न्यून रहेको र अक्सिजनको माग पनि नभएका कारण प्लान्ट स्थापना गर्न ढिलाइ गरिएको हो ।