२०८१ जेठ ७, सोमबार    

एमालेको आमसभाले हुप्र चौर कुरुप

२०७९ बैशाख १९, सोमबार १९:१४ बजे

हेटौंडा/ नेकपा एमालेको आमसभाका कारण हेटौंडा–४ स्थित हुप्र चौर कुरुप बनेको छ ।

आइतबार एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा गरिएको आमसभाका कारण हुप्रचौर कुरुप बनेको हो । हुप्रचौरमा आमसभापछि एमालेले फोहोर सरसफाइ र टेण्ट लगाउनका लागि पारिएको खाल्डो पुरेको छैन ।

हुप्र चौरमा नगर विकास समितिले सार्वजनिक कार्यक्रम, मेला महोत्सव र आमसभा आयोजना गर्न रोक लगाएको छ । एमालेले समितिको निर्णयको उल्लंघन गर्दै आमसभा गरेको थियो । ‘हुप्र चौरमा आमसभाका लागि खाल्डाहरु पारिएको छ ।’ स्थानीयले गुनासो सुनाउँदै भने, ‘एमालेले खाल्डा पुर्नेसँगै फोहोर पनि सरसफाइ गरेको छैन । जसका कारण हुप्र चौर एमालेकै कारण कुरुप बनेको छ । यसप्रति हामी स्थानीयबासी रुष्ट भएका छौं ।’

स्थानीयबासीले निर्वाचनलक्षित कार्यक्रम गर्दा जनताले प्रयोग गर्ने सार्वजनिक स्थललाई कुरुप पार्नेले भोट माग्न लज्जित हुनुपर्ने बताएका छन् । एमालेले हुप्र चौरमा गरेको फोहोर र खाल्डो पारिएको बारे सामाजिक संजालमा आलोचना भइरहेको छ ।

मंगलबार खाल्डो पुर्ने र सरसफाइ गर्ने एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले बताए । ‘कार्यक्रम सकिए लगतै सरसफाइ गरिएको थियो । कतै खाल्डो र केहि फोहोर हुनसक्छ । हामी मंगलबार सबै खाल्डो पुर्ने र सरसफाइ गर्नेछौं ।’ उनले भने ।