२०८१ बैशाख १७, सोमबार    

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलनको तयारीमा

२०८० असार १६, शनिबार १६:४१ बजे

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर व्यवसायीले आन्दोलनको तयारी गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यवसायीलाई अप्ठेरो पार्ने गरी कर नीति तय गरेकोभन्दै उनीहरुले शनिबार जिल्ला भेला आयोजना गरेका छन् ।

उनीहरुले व्यवसायीलाई भ्याट र प्यानमा लैजाने बहानामा अनावश्यक झनझट सिर्जना गरेको आरोप लगाएका छन् । उनीहरुले २०७६÷०७७ को बजेट वक्तव्यमा भएको व्यवस्थालाई गलत अर्थ लगाएर अहिले व्यवसायीसँग पुरानो करको बक्यौता भनेर राजस्व कार्यालयले उठाउन खोजिरहेको आरोप लगएका छन् ।

नारायणी पेट्रोलियम विक्रेता संघ अध्यक्ष उत्सव इटेनीका अनुसार व्यवसायीलाई अहिले राज्यले भ्याटमा जान बाध्य बनाएपनि पुरानो करको विषयलाई अनावश्यक व्याख्या गरेर दुःख दिन लागेको बताए । जिल्ला राजस्व कार्यालय, व्यवसायी र नेपाल आयल निगमको कर्मचारीवीच समस्या समाधानको विषयमा तत्काल छलफल अगाडि बढाउने र माग पूरा नभएर आन्दोलन गर्ने गरी भेला सम्पन्न भएको अध्यक्ष इटेनीले जानकारी दिए ।

भेलालाई नारायणी यातायात व्यवसायी कम्पनी प्रालि हेटौंडा र नारायणी यातायात व्यवसायी संघ हेटौंडाको पनि समर्थन रहेको छ । भेलामा उपस्थित व्यवासयीले राज्यले विभिन्न बहानामा आफूहरुलाई समस्या पार्ने काम गरेकोभन्दै तत्काल आन्दोलन घोषणा गर्न नेतृत्वलाई सुझाएका थिए ।