२०८१ जेठ ८, मंगलबार    

प्रदेश सभा भवन निर्माण ज्यादै सुस्त, २५ प्रतिशत मात्र प्रगति

२०७८ माघ २३, आईतबार ०९:१५ बजे

हेटौंडा/ वाग्मती प्रदेशसभा बैठक राख्ने प्रयोजनका लागि निर्माण गर्न लागिएको नयाँ सभा हलको काम सुस्त गतिमा अघि बढेको छ ।

२०७७ कात्तिकमा निर्माण सम्झौता भएको सो ट्रस्टको सभा हल निर्माण सुस्त गतिमा अगाडि बढिरहेको छ । सम्झौता भएको समयदेखि हालसम्म करिव १५ महिनाको अवधिमा सो सभा हलको २५ प्रतिशतमात्र काम भएको छ ।

सभाहल निर्माणको ठेक्का अवधि समाप्त हुन ३ महिना मात्र बाँकी रहँदासमेत समयमै निर्माण कार्य सम्पन्न हुनेमा शहरी विकास तथा भवन कार्यालय हेटौंडाले नै शंका व्यक्त गरेको छ । यस अवधिमा कार्यालयले ३ पटकसम्म निर्माण कम्पनीलाई समयमै काम सक्न पत्र काटिसके पनि त्यसको उपलब्धि भने देखिएको छैन । शहरी विकास तथा भवन कार्यालय हेटौंडाका प्रमुख राजेश कुमार पौडेल १८ महिनामा सम्पन्न गर्ने गरी सो भवनको ठेक्का लगाइए पनि निर्माण कम्पनीले समयमा काम नगर्दा समस्या देखिएको बताउँछन् ।
सभाहल निर्माणका लागि अर्धाखााची सगुन पारामाउण्ट जेभीलाई १८ महिनाको म्याद दिएर ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले आगामी २०७९ बैशाख २१ गतेभित्र सभा हल बनाइ सक्नुपर्ने हुन्छ ।

नयाँ प्रविधिको काम भएका कारण पनि समयमा निर्माण सामग्री प्राप्त नभएकाले सभा हल निर्माणको काममा प्रगति नदेखिएको उनले बताए । कोरोना संक्रमणको जोखिमले पनि सामग्रीहरु आयातमा समस्या भएको उनको भनाइ छ ।
तत्कालनि समयमा क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको थियो । हालसम्म सोही भवनबाट प्रदेशसभाको काम कारवाही सञ्चालन भइरहेको छ ।

२ सय ५० जना अट्ने सो सभा हल इपीएस स्याण्डवीच प्रविधिबाट निर्माण भइरहेको छ । सभाहल निर्माणका लागि शहरी विकास तथा भवन कार्यालय हेटौंडाले ७ करोड ४१ लाख लागत अनुमान गरेको थियो भने घटाघट विधि अनुसार ४ करोड ९४ लाख रुपैयाँमा निर्माण गर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।