२०८१ बैशाख २३, आईतबार    

निर्माण व्यवसायी संघ अध्यक्षमा पुन: ढकालको दावी

२०७८ फाल्गुन २३, सोमबार १०:४१ बजे

हेटौंडा/ निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्षमा श्याम ढकालले उम्मेदवारी दिने भएका छन् ।

हाल संघ अध्यक्ष रहेको ढकालले पुन: उम्मेदवारी दिने भएका हुन् । कोरोना महामारीका कारण आफ्नो तीनवर्षे कार्यकालमा उल्लेख्य काम गर्न नपाएकोभन्दै ढकालले निर्माण व्यवसायीकै अनुरोधमा पुन: उम्मेदवारी दिने तयारी गरेको बताए । संघको अधिवेशन चैत महिनामा गर्ने तयारी भइरहेको छ । संघको आगामी वैठकले अधिवेशनको मिति तय गर्ने बुझिएको छ ।

‘मेरो कार्यकालमा निर्माण व्यवसायमात्र नभएर संसार नै कोरोना महामारीका कारण पीडित बन्न पुग्यो । जसको कारणले गर्दा हाम्रो कार्यसमितिले निर्धारण गरेको लक्ष्य हासिल गर्न सकेनौं । साथीहरुको सल्लाहमै मैले पुन: नेतृत्व गर्ने मनस्थिति बनाएको हुँ ।’, उनले सर्वसम्मतरुप आफूलाई अध्यक्ष बनाउन संघका पूर्वअध्यक्षहरुले पहल गरिरहेको बताए ।

उनले निर्माण क्षेत्रमा देखिएको समस्या समाधान गर्न र निर्माण सामग्रीको बढ्दो मूल्य वृद्धि नियन्त्रण गर्न सरोकारावाला पक्षलाई आफूले निरन्तर खबरदारी गरिरहेको बताए । ‘मेरो कार्यकालमा धेरै राम्रो कामको सुरुवात भएका छन् । त्यसलाई कुशलतापूर्वक सम्पन्न गर्न पनि मैले एकपटक नेतृत्व गर्नैपर्छ ।’, उनले भने ।

निर्माण व्यवसायी संघको गतहप्ता बसेको बोर्ड बैठकमा कार्यसमितिमा रहेका २१ जनामध्ये २० जनाले ढकाललाई पुन: अध्यक्षमा दोहोर्‍याउन आग्रह गरेका थिए । ‘हाल कार्यसमितिमा रहेका बोर्डकै साथीहरुले पुन: दोहोर्‍याउन आग्रह गरेका छन् । मैले साथीहरुसँग सल्लाह गरिसकेको छु ।’, उनले भने ।