२०८१ बैशाख १२, बुधबार    

अमलेखगञ्जमा १.३० अर्ब लागतमा स्टोरेज ट्यांक निर्माण हुँदै

२०७९ भाद्र ४, शनिबार ०८:५७ बजे

बिहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट आएको पेट्रोल भण्डारण पूर्वाधारको काम सुरु भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) को प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपो भित्र पेट्रोल भण्डारण गृह (ट्यांक) निर्माणको थालिएको छ ।  पाइपलाइनबाट आउने पेट्रोल भण्डारण गर्ने पूर्वाधारको काम सुरु गरिएको नेपाल आयल निगमले जनाएको छ। मोतिहारीदेखि अमलेशगञ्ज ७६ किमीको दूरी छ। नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको काम आइओसीले अघि बढाएको छ । 

उक्त पूर्वाधार निर्माण गर्न एक अर्ब ३० करोड रुपैयाँ लाग्ने अनुमान रहेको अमलेखगञ्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए। भण्डारण गृह निर्माण नभएका कारण  पाइपलाइनबाट पेट्रोल ल्याउन नसकिएको उनले बताए। पहिलो चरणको काम २०७६ भदौ २४ गते सम्पन्न भएपछि पाइपलाइनबाट डिजल आयात सुरु भएको थियो । 

अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न चार हजार एक सय किलोलिटर क्षमताका दुई ट्यांकी निर्माण भइरहेको छ। साथै डिजल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्यांकर लोड र अनलोड गर्न २४ वटा लोडिङ फिलिङसेट निर्माण गर्न लागिएको निगमले जनाएको छ । 

यसले पेट्रोल चोरी र ढुवानीको समस्या हट्ने विश्वास निगमको छ । त्यस्तै मोतिहारीमा पनि पेट्रोल भण्डारणगृह निर्माण भइरहेको छ । विगतमा रक्सौलबाट अमलेखगञ्जसम्म ३५ किमीको दूरीमा ट्यांकरमार्फत पेट्रोल र डिजल आयात भइरहेको थियो। हाल पाइपलाइनबाट प्रतिघण्टा दुई सय ५० किलोलिटरका दरले डिजल आयात भइरहेको निगमले जनाएको छ । 

पहिलो चरणको परियोजनामा पाइपलाइनमार्फत डिजल आयात गर्न निगम र आइओसीको संयुक्त लगानीमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणको काम दुई अर्ब ७५ करोड भारतीय रुपैयाँमा सकिएको थियो । 

अमलेखगजञ्मा हाल १९ हजार किलोलिटर क्षमताको डिजल र दुई हजार एक सय किलोलिटर पेट्रोल भण्डारण गर्ने क्षमता छ । उक्त पाइपलाइनबाट आयात गरिएको डिजल वीरगञ्ज, जनकपुर, काठमाडौं, पोखरा, चितवनलगायत जिल्लामा बिक्री वितरणका लागि निगमले पठाउने गरेको छ । 

तत्कालीन उद्योग मन्त्री सुनिलबहादुर थापा र भारतका तर्फबाट प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानबीच २०७२  साल भदौ ७ गते पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गर्न सम्झौता भएको थियो। सन् २०२४ जनवरीमा पूर्वाधार निर्माण सकेर पाइपलाइनबाट पेट्रोल आयात गर्ने आयल निगमको लक्ष्य छ ।