२०८१ जेठ ४, शुक्रबार    

संसदीय समितिमा गठबन्धनले उमेदवार नउठाउने, एमालेको जीत निश्चित

२०७८ माघ १६, आईतबार १२:४५ बजे

हेटौंडा/ सत्तारुढ गठबन्धनले संसदीय समितिको सभापति पदमा हुने निर्वाचनमा उम्मेदवारी नदिने भएको छ ।

वाग्मती प्रदेश सभाअन्तर्गत् रहेका दुईवटा संसदीय समितिले सभापति छनौट गर्न सोमबार मतदानहुँदैछ । स्रोतका अनुसार गठबन्धन निर्वाचन कार्यक्रममै अनुपस्थित हुने भएको छ । ‘गठबन्धनमा कुनै छलफल नै भएको छैन । उक्त समितिमा रहेका सदस्यहरुलाई पनि केही वास्ता छैन । त्यसकारण निर्वाचन प्रक्रियामै सहभागी नहुने तयारी भइरहेको छ ।’, स्रोतले भन्यो ।
गठबन्धनको उम्मेदवार नहुँदा एमालेका उम्मेदवार सर्वसम्मत हुने निश्चित देखिन्छ । एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनबाट उम्मेदवार तय नभएको हो ।

वैशाख देखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ ।

अर्थ तथा विकास समितिका सदस्यहरु सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहको कारण उनीहरु निर्वाचनमा सहभागी हुनेछैनन् । अर्थ तथा विकास समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसागै उक्त पद रिक्त रहेको थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त रहेको छ ।

प्रदेश सभाका सचिव कृष्णहरि खड्काका अनुसार आज आइतबार अपरान्ह ५ बजेसम्ममा सभापति पदका उम्मेदवारले मनोनयन दर्ता गराउनुपर्नेछ । प्रदेश सभा सचिवालयले अर्थ तथा विकास समितिको सभापति पदको निर्वाचन सोमबार मध्यान्ह १२ बजेका लागि तय गरेको छ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरिएको छ ।