२०८१ बैशाख १७, सोमबार    

पेट्रोलिय पदार्थ लोडअनलोड ठप्प, व्यवसायीद्वारा धर्ना

२०७८ चैत्र १८, शुक्रबार १५:३६ बजे

विभिन्न मागसहित आन्दोलनमा उत्रिएका पेट्रोलिय व्यवसायीहरुले बारास्थित अमलेखगञ्जमा रहेको मधेश प्रदेश कार्यालयस्थित डिपोमा धर्ना दिएका छन् ।

आन्दोलन समन्वय समितका संयोजक उत्सव इटेनीको नेतृत्वमा व्यवसायीहरुले डिपोमा धर्ना दिँदै पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पारेका छन् । पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिले फागुन २३ गते नेपाल आयल निगमलाई विभिन्न ६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको थियो । ‘हाम्रो माग पूरा भएन । हामीले लोडअनलोड ठप्प पारेका छौं । ’, इटेनीले आन्दोलनबाट उपभोक्तालाई पर्न गएको असुविधाप्रति निगम नै जिम्मेवार भएको बताए ।

आन्दोलनलाई सफल बनाउन भन्दै फागुन २३ गते नै नारायणी पेट्रोलियम विक्रेता संघका अध्यक्ष इटेनीको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरिएको थियो । पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले नेपालमा पेट्रोलियम ऐन बनाएर लागू गर्नुपर्ने, निगमको एलपीजी विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी सम्बन्धि व्यवसायी संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जनसहित संशोधन गर्नुपर्ने, नेपाल सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा समेत ढुवानी भाडा लागू गर्न अध्ययन समितिको प्रतिवेदन अनुसारको भाडा यथाशिघ्र लागू गर्नुपर्ने लगायत ६ बुँदे माग राखिएको छ ।

धर्नामा केन्द्रीय कार्य समितिका प्रथम उपाध्यक्ष विनोद चौरसिया, केन्द्रीय सदस्य तथा स्थानीय एसोसिएसनका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।