२०८१ जेठ ५, शनिबार    

त्रिवेणीधाममा २ करोड लागतमा तयारहुँदै सिस महल

२०७८ चैत्र ६, आईतबार १२:४४ बजे

कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितिले करिब २ करोडको लागतमा भौतिक संरचनासहित सिस महल निर्माण भैरहेको छ ।

कुष्माण्ड सरोवर त्रिवेणीधामको महत्वलाई विद्युतीय माध्यमबाट दर्शाउनका लागि सिस महल निर्माण गरेको कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए । महल निर्माणको काम केही बाँकी रहेको छ ।

‘विद्युतीय प्रवाहबाट सञ्चालित सिस महलमा विद्युत प्रवाह नहुने वित्तिकै आध्यारो हुन्छ । बत्ती नहुँदा मोवाइल बोकेर अवलोकन गर्नुपर्ने अवस्था छ । त्यसको वैकल्पिक व्यवस्था गर्नुपर्ने छ । सिस महलमा करिव २ सय वटा जति बत्ती जडान भएका छन्’, उनले भने । सिस महल राष्ट्रिय महत्वको विषय भएकोले राष्ट्रपतिको हातबाटै माघ महिनामा उद्घाटन गर्ने तयारी भएको जानकारी दिँदै कोरोना भाइरसका कारण उद्घाटनको काम रोकिएको जानकारी दिए ।

शनिबार र अन्य बिदाको दिन धेरै सर्वसाधारणले अवलोकन गरेको उनले बताए । सिस महल प्रवेशका लागि प्रति व्यक्ति एकसय रुपैयाँ शुल्क तोकिएको छ । सिस महलबाट उठेको रकमबाट कुष्माण्ड सरोवर त्रिवेणीधामको बृत्ति विकास, मर्मत सम्भार लगायतका कार्यमा खर्च गरिनेछ ।

त्रिवेणीधाममा प्रत्यक्ष रुपमा १० जनाले रोजगारी पाइरहेका छन् । वाग्मती प्रदेश, हेटौंडा उपमहानगरपालिका, वडा समिति, विभिन्न व्यक्ति तथा संस्थाहरुको आर्थिक सहयोगमा सिस महल निर्माण भएको हो ।