२०८१ बैशाख ३०, आईतबार    

उदण्ड र गुण्डागर्दी कांग्रेसलाई चाहिँदैन : बुद्ध लामा

२०७९ बैशाख ६, मंगलबार १६:२० बजे

नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले पार्टी कार्यालयमा तालाबन्दी गर्नेलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिएका छन् ।

हेटौंडाको मेयर कुनै पनि हालतमा कांग्रेसले प्राप्त गर्नुपर्नेभन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेसँगै सभापति लामाको यस्तो अभिव्यक्ति आएको हो । युवा नेता सुनिल गिरीको समूहले पार्टी कार्यालयमा तालाबन्दी गरेको दुई घण्टामै सभापति लामाले खोलेका थिए । पार्टी कार्यालयमा प्रहरी समेत परिचालन भएको थियो ।

‘अनुशासनविहीन कांग्रेस हुँदैन । अनुशासनहिन कार्यकर्ता चाहिँदैन । उदण्ड र गुण्डागर्दी कांग्रेसलाई चाहिँदैन । कांग्रेस सभ्य र सालिन हो । कांग्रेस इतिहास हो । कांगेस नेपाली जनताको मुटुमुटुमा बसेको पार्टी हो । कांग्रेसमा यस्ता उदण्ड र अराजकतालाई ठाउँ छैन । बस्नु पनि पर्दैन ।’, सभापति लामाले भने ।

उनले पार्टी कार्यालयमा तालाबन्दी गर्नेलाई हदैसम्म कारबाही गर्ने चेतावनी दिए । ‘आजै गर्छु कारबाही । पार्टीबाट निष्कासन गर्छु । विधान, नियम र कारबाही अनुसार कतिवर्ष हुन्छ हेरेर सोही अनुसार गर्छु । आजबाटै कारबाही हुन्छ । जो जसको हात छ । सवैलाई कारबाही हुन्छ ।’, सभापति लामाले भने ।