२०८१ बैशाख १४, शुक्रबार    

जनतालाई सेवा दिन राजनीति हुनुपर्छ : सभापति बानियाँ

२०७९ भाद्र २६, आईतबार ०९:५७ बजे

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जनतालाई सेवा दिन राजनीति हुनुपर्ने बताएका छन् ।

स्व.कृष्ण गोपाल फाउण्डेसनद्वारा धादिङको धुनीबेसीमा शनिबार आयोजित निःशुल्क स्वास्थ परीक्षण, औषधि तथा चस्मा वितरण कार्यक्रममा सभापति बानियाँले जनतालाई सेवा दिनका लागि राजनीति हुनुपर्ने बताए । उनले राजनीतिलाई सबैले बुझ्दा मात्रै जनता र देशको सेवा हुने बताए ।

‘जनतालाई सेवा दिनको लागि राजनीति गरेको हो’, उनले भने, ‘राजनीति सबै नागरिकले बुझ्नुपर्छ । ठीक व्यक्तिको हातमा राजनीति र नेतृत्व गएन भने समस्या हुन सक्छ ।’ सभापति बानियाँले कांग्रेसले देशको विकास र जनताको सेवाका लागि एमसीसी पास गरेको बताए । उनले एमसीसीको विरोध हुँदाहुँदै कांग्रेसले देश विकासका लागि स्वीकार गरेको बताए ।

 

उनले भने, ‘कांग्रेसले एमसीसी पारित गरेको छ । एमसीसी पारित गर्दा कांग्रेस सिद्धिन्छ भन्थे । कांग्रेस नै ठूलो पार्टी बनेको छ । मुलुकको लागि एमसीसी आवश्यक थियो । पास भयो ।’

‘राजनीति भनेको सेवा हो । राजनीति गर्ने व्यक्तिले जनताको अफ्ठ्यारो, पीडा र दुःखमा कुरा बुझेर सेवा गर्नुपर्छ’, सभापति बानियाँले भने, ‘राजनीतिमा व्यापार हुँदैन । व्यापारमा नाफा नोक्सान हुन्छ । राजनीतिमा नाफा हुँदैन ।’

पैसा खर्च गरेर ठूला अस्पतालमा जान नसक्नेलाई आफ्नै ठाउँमा उपचार दिएर स्वास्थ्य सेवा दिने कार्य निकै राम्रो भएको उनको भनाइ छ । कार्यक्रममा धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी, कांग्रेस नेता मधुकरमा श्रेष्ठ, वरिष्ठ अभिनेता नीरबिक्रम शाह, अभिनेता रविन्द्र खड्कालगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।