२०८१ जेठ २, बुधबार    

मनलाग्दी फोहोर संकलनले चौघडाबासी समस्यामा

२०७९ बैशाख ४, आईतबार ०९:०६ बजे

हेटौंडा उपमहानगरपालिकाले मनलाग्दीरुपमा फोहोर संकलन गर्दा आफूहरु समस्यामा परेको गुनासो स्थानीयले गरेका छन् ।

हेटौंडा उपमहानगरले हेटौंडा–६, चौघडा क्षेत्रमा मनलाग्दीरुपमा फोहोर संकलन गर्दा समस्या परेको गुनासो स्थानीयले गरेका हुन् । स्थानीयका अनुसार हप्तामा एकदिन फोहोर संकलन गर्ने भनिएपनि नियमितरुपमा हुन सकेको छैन । मासिक शुल्क पनि मनलाग्दीरुपमा उठाउने गरिएको गुनासो उनीहरुको छ ।

‘हप्तामा एकदिन फोहोर उठाउन आउने गरेको छ । त्यो पनि गाडी पूरै भरिएको हुन्छ । फोहोर गाडीमा हाल्न जाँदा मुखैमा झर्ला भन्ने डर हुने गरी गाडी भरिएको हुन्छ । हप्तादिनमै फोहोर उठाउन आउँछ भन्ने पनि फिक्स छैन ।’, स्थानीय सौरभ श्रेष्ठले भने । स्थानीयले हप्तामा कम्तिमा दुई दिन एकपटक फोहोर संकलन गरेको खण्डमा सहजता हुने बताउँछन् ।

‘हप्ता दिनसम्म फोहोर राख्दा गन्हाउने गरेको छ । यस विषयमा हामीले सरोकारवालालाई जानकारी गराएपनि कुनै किसिमको काम हुन सकेको छैन ।’, स्थानीयले भने । चौघडाबासीले मासिक शुल्क र फोहोर संकलन गर्ने दिन तोकेर नै यस कार्य गर्नुपर्ने माग समेत गरेका छन् ।