२०८१ बैशाख १४, शुक्रबार    

६ करोड लागतमा तयार भयो दुग्ध प्रशोधन उद्योग

२०७९ श्रावण १८, बुधबार १६:५९ बजे

करिव ६ करोड लागतमा निर्माण गरिएको दुग्ध प्रशोधन डेरी उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ मा स्थापना गरिएको सो उद्योग प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) र सहकारीको लगानीमा  निर्माण गरिएको हो ।

उद्योग स्थापनाका लागि बागमती प्रदेश सरकारको ५७ लाख २० हजार रुपैयाँ, सहकारी बजार विकास कार्यक्रमको दुई चरण गरि १ करोड ७४ लाख रुपैयाँ र सहकारी संघको करिब ३ करोड रुपैयाँ लगानी परेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका व्यवस्थापक कुमारमणि दाहालले जानकारी दिए ।

 

२ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको सो उद्योगमा खुवा, प्रशोधित दुध र दही तयार हुने मेसिनको परिक्षण गरिएको थियो । उद्योगले दूध, दही, आइसक्रिम, पनिर, घ्यु, बटर (नौनी) लगायतका दूधका परिकारहरू उत्पादन गरिने संघका व्यवस्थापक दाहालले बताए ।

उद्योग स्थापनाको लागि जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरले आफ्नै कृषि सहकारी लिमिटेड मार्फत् आन्तिरिक खरिद् प्रक्रियाबाट सो क्षेत्रफलको जग्गा खरिद् गरेको थियो ।

उद्योगबाट एक सिफ्टमा १० हजार दूधलाई प्रशोधन गर्न सकिने र दूधबाट विभिन्न परिकार बनाउन सक्ने क्षमता रहेको छ । जिल्ला दुग्ध सहकारी संघमा हाल मकवानपुरका ६० वटा सहकारी संस्था आवद्ध रहेका र ती सहकारीहरूबाट दैनिक ४० हजार लिटर दूध खरिद बिक्रि भइरहेको दाहालको भनाइ छ । संघले सो कार्यमा सहकारीहरूलाई सहजीकरण गर्दै आइरहेको उनले बताए ।

उद्योग संचालनका लागि संघले नेपाल सरकार र बागमती प्रदेश सरकारले जारी गरेको सहकारी, बजार, खाद्य गुणस्तर, उपभोक्ता हक हित संरक्षण लगायतका ऐनको अधिनमा रहेर कार्यविधि तयार पर्ने तयारी गरेको व्यवस्थापक दाहालले बताए । उक्त कार्यविधिको आधारमा उद्योगको संचालन, कर्मचारी भर्ना, बजारीकरण, गुणस्तर लगायतका विषयहरु अघि बढाइने उनको भनाई छ ।

प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थितिमा उद्योगमा जडान भएका मेसिनको प्रारम्भिक परीक्षणसमेत गरिएको छ ।

संघका अध्यक्ष बासुदेव अधिकारीका अनुसार स्थापना भएका सबै मेसिनहरुको परिक्षण उत्पादन भइसकेको छ । ‘हामीले स्थापना गरिएका मेसिनहरुको परिक्षण उत्पादन गरिसकेका छौं । त्यसमा हामीलाई सफलता मिलेको छ । हामी केही समयमा नै नियमित रुपमा उत्पादन सुरु गरी व्यावसायिकता तर्फ जान्छौ,’ उनले भने, ‘केही मेशिन भने आउन बाँकी रहेको छ । ती मेसिनहरु पनि केही समयमा प्राप्त हुन्छ । दशैंको समय पारेर सबै वस्तु उत्पादन गर्ने गरी तयारीमा जुटेका छौं । दशैँसम्ममा उद्योग पूर्ण रुपमा सञ्चालन गर्ने हाम्रो लक्ष्य हो ।’

प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले उद्योग पश्चात मिल्क होलिडे हुने अवस्थाको अन्त्य हुने बताए ।