२०८१ बैशाख २४, सोमबार    

बकैयामा कला–साहित्य महोत्सव हुने

२०७८ फाल्गुन २, सोमबार १७:२४ बजे

हेटौंडा/ मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक मकवानपुरले बकैया कला–साहित्य महोत्सव–२०७८ गर्ने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन आयोगना गर्दै फागुन २७ र २८ गते बकैया—३, हात्तीसुढोमा कला–साहित्य महोत्सव गर्ने विषयमा जानकारी दिएको हो ।

गाउपालिकाको आर्थिक सहयोगमा हुन लागेको महोत्सव बुद्ध माविमा हुने झरनाका अध्यक्ष दीपक गौतमले जानकारी दिए । दुई वर्षदेखि साहित्य महोत्सव आयोजना भइरहेको छ । महोत्सवमा कविता, गजल, मुक्तक विशेष कार्यक्रमहरूकै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खैंजडी भजन, तामाङ, माझी, राईलगायतका जनजातिका कला संस्कृतिको प्रस्तुति हुने जनाइएको छ । महोत्सवमा देशभरबाट करिब ५० जना साहित्यकार, गायक र बकैया गाउापालिकाका राजनीतिक सामाजिक अगुवासहित करिब ५ सयजनाको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

महोत्सवका क्रममा नगद रु. २१,१२१ र सम्मानपत्रसहित होमनाथ टीकामाया प्रतिभा सम्मान–२०७८ बाट अग्रज साहित्यकार एवम् प्राज्ञ डा. देवी नेपाल (भक्तपुर), नगद रु. १५,५५५ र सम्मानपत्रसहित शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०७८ बाट अग्रज मुक्तककार वियोगी बुढाथोकी (काठमाडौं), नगद रु. १५,५५५ र सम्मानपत्रसहित बाबुलाल–भोजमाया स्मृति प्रतिभा सम्मान–२०७८ बाट अग्रज साहित्यकार आरसी रिजाल (मकवानपुर), नगद रु. ७,७७७ र सम्मानपत्रसहित खडानन्द–मनमाया स्मृति युवा प्रतिभा सम्मान–२०७८ बाट युवा कवि यात्रीप्रकाश पाण्डे (धादिङ), नगद रु. ७,७७७ र सम्मानपत्रसहित सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७८ बाट युवाकवि शान्ति प्रियवन्दना (मकवानपुर)लाई सम्मानित गरिनेछ ।

यसैगरी, नगद रु. ७,७७७ र सम्मानपत्रसहित सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७८ बाट समाजसेवी बेलप्रसाद दहाल, बकैया–४, नगद रु. ७,७७७ , सम्मानपत्रसहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०७८ बाट कलाकार बाबुलाल वाइबा (मकवानपुर), नगद रु. ७,७७७, सम्मानपत्रसहित झरना–बकैया पत्रकारिता सम्मान–२०७८ बाट पत्रकार गोकर्ण गौतम (मरणोपरान्त) बकैया–४ र नगद रु. ५,००५ र सम्मानपत्रसहित झरना–बकैया नवप्रतिभा सम्मान–२०७८ बाट उदीयमान गजलकार विजय दोङ बकैया–५ सम्मानित हुने तय भएको संस्थाका सचिव मसान उपासकले जानकारी दिए ।