२०८१ बैशाख १७, सोमबार    

ऊर्जाको चरम संकट हुने संकेत, २४ सैं घण्टा कुलेखानी सञ्चालन

२०७८ चैत्र १९, शनिबार १९:०३ बजे

नेपाल विद्युत् प्राधिकरणको मुख्य ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलाशय (इन्द्रसरोवर) मा संकलित पानी प्रतिदिन ५० देखि ६० सेन्टिमिटरको दरले घट्न थालेको छ ।

पिकअप र सुक्खायाममा मात्र सञ्चालनमा ल्याउने उद्देश्यले निर्मित कुलेखानी जलविद्युत् आयोजना यति बेला चौबीसै घण्टा सञ्चालनमा आउन थालेको छ । ‘गत फागुन अन्तिम सातादेखि कुलेखानी जलविद्युत्का तीनवटै आयोजना चौबीसै घण्टा सञ्चालनमा ल्याएका छौं,’ कुलेखानी प्रथमका प्रमुख धीरेन्द्र चौधरीले भने, ‘रन अफ रिभरमा आधारित जलविद्युत् आयोजनाहरूवाट विद्युत् उत्पादनमा ह्रास आएपछि कुलेखानी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउनुपरेको हो ।’

गत आर्थिक वर्षको यही अवधिमा कुलेखानी जलाशयमा एक हजार ५ सय १८ मिटर पानीको सतह थियो । अहिले जलाशयमा एक हजार ५ सय १४ मिटर मात्र पानीको सतह छ । यो वर्ष कुलखानी जलाशय पूरा भरिएको थियो । पानी भरिएर १० दिनसम्म ओभरफ्लो भएको थियो । १ हजार ५ सय ३० मिटरसम्म पानी संकलन गरेर राख्न सकिने क्षमता जलाशयको छ ।

२०७२ सालको भूकम्पअघि क्षमताभन्दा बढी करिब ५० सेन्टिमिटर पानी संकलन गर्न ड्याममा बालुवा प्याक गरेका बोरा राख्ने गरिन्थ्यो । अहिले बोरा राखेर जलाशयको क्षमताभन्दा बढी पानी संकलन गर्न छाडिएको छ । मकवानपुरको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रबाराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयका जलाधार क्षेत्र हुन् । अहिले जलाधार क्षेत्रमा वर्षा भएको छैन । जलाधार क्षेत्रका खोला पनि सुकेका छन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलाशयको पानी एक हजार ४ सय ८४ मिटरसम्म तल झर्दा प्रयोग गर्न मिल्छ । जलाशयमा संकलित पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ । कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ । कुलेखानी जलाशयमा संकलित पानीबाट तीनवटै आयोजनाले बिजुली उत्पादन गर्छन् ।