२०८१ बैशाख २३, आईतबार    

ट्वीटर ट्रेन्डिङमा आए प्रकाश सपुत

२०७८ फाल्गुन ३०, सोमबार १६:०३ बजे

ट्वीटरमा नेपालको ट्रेन्डिङ सूचीमा अहिले गायक प्रकाश सपुतको नाम आएको छ । ट्वीटर मात्र होइन, पछिल्ला केही दिनमा गायक प्रकाश सपुत र उनको नयाँ गीत ‘पीर’ सामाजिक सञ्जालका सबैजसो प्लेटफर्ममा चर्चाको विषय बनेको छ ।

शुक्रबार गायक सपुतले आफ्नो युट्युव च्यानलमा यो गीत अपलोड गरेका थिए । हालसम्म उनको गीतले ४३ लाखभन्दा बढी भ्युज पाइसकेको छ भने लगातार नेपालमा ट्रेन्डिङ नम्बर १ मा छ ।केहीले यो गीतको पक्षमा बोलेका छन् भने केहीले आपत्ति जनाएका छन् । वास्तवमा गीतमा पूर्वलडाकुहरूले अहिले भोगिरहेका विभिन्न समस्यालाई दर्शाइएको छ । केही नेता उच्च तहमा पुगिरहदाँ १० वर्षे जनयुद्धमा होमिएका अन्य लडाकुहरूले भने पाइरहेको दुःखलाई गीतमा चित्रण गरिएको छ ।
गीतमा एक जना महिला छापामार देह व्यापारमा संलग्न भएको विषयलाई लिएर सामाजिक सञ्जालमा अहिले विवाद चलिरहेको छ । कसैले यसलाई प्रकाश सपुतको गीतले यथार्थलाई चित्रण गरेको भनेका छन् भने केहीले यो गीतले महिला छापामारहरूको हत्या गरेको भन्ने अभिव्यक्ति दिएका छन् ।

केहीले भने आउँदै गरेको चुनावलाई भड्काउन यो गीत निकालिएको बताएका छन् । यो विषय अहिले देशव्यापी भएको छ । ठूला-ठूला राजनीतिक नेताले पनि यस विषयमा आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् ।