२०८१ बैशाख ८, शनिबार    

बहुप्राविधिक विश्वविद्यालय निर्माणमा ढिलाई, समस्यामा विद्यार्थी

२०७८ चैत्र ९, बुधबार ०८:२६ बजे

हेटौंडा–६, गौरीटारमा निर्माणाधीन बहुप्राविधिक विश्वविद्यालयको भवन निर्माणमा ढिलाइहुँदा विद्यार्थीहरू समस्यामा परेका छन् । तोकिएको समयमा भवन निर्माण नहुादा अध्ययनका लागि आएका विद्यार्थीहरू फर्कन थालेका छन् ।

सम्झौता अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गरिनुपर्ने थियो । तर, अहिलेसम्म करिब ५० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको बताइएको छ । विगत २२ वर्षदेखि निर्माण हुने भनिएको बहुप्राविधिक विश्वविद्यालयको शिलान्यास तीन वर्षअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए ।

दुई वर्षमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने भए पनि कोरोनाको बहाना बनाउँदै काममा ढिलासुस्ती भएको हो। २२ वर्ष अघिदेखि विद्यालय निर्माणको लागि योजना बनाए पनि काम शुरु हुन सकेको थिएन । विद्यालय भवन समयमा नै बन्ने भन्दै सरकारले तीन वर्ष अघिदेखि केही विषयमा पठन पाठन समेत शुरु गरिसकेको छ । समयमा भवन नबन्दा विद्यार्थीको भर्ना दरमा कमी आएको विद्यालयका शिक्षक (प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीका प्रशिक्षक) अमित ठाकुरले बताए ।

सरकारको प्रत्येक वर्ष २ हजार ५ सय जना दक्ष जनशक्ति यस महाविद्यालयबाट उत्पादन गर्ने लक्ष्य छ । भारत सरकारको ५८ करोड ४४ लाखको लागतमा निर्माण शुरु भएको विश्वविद्यालयको तीन वर्षसम्म करिब ५० प्रतिशत मात्र काम भएको हो ।

हेटौंडा ६ सल्लाघारीमा रहेको २६ विगाहा क्षेत्रफलमा विद्यालय बन्न लागेको हो । निर्माणको लागि चित्रेपानी सामुदायिक वनमा रहेको २ हजार ३ सय वटा रूखसमेत कटान गरिएको थियो। ४ फागुन २०६६ मा तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकका रूपमा भारतीय लगानीमा हेटौंडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।