हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन् ।
कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत् सोमबार भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन: मतदान तयारी भएको अवस्थामा लामाको पक्षमा सहमति जुटेको हो । दोस्रो चरणमा लामा र आनन्दराम पराजुलीवीच निर्वाचन हुने तय भएको थियो । यस्तो अवस्थामा पार्टीको केन्द्रीय तहबाट शीर्ष नेताबाट हस्तक्षेप भएपछि लामालाई सभापति पद सुम्पिन पराजुली तय भएका हुन् । उनीहरु दुवै संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।
कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएको छ । यसअघि २०४६ साल अघि सूर्यबहादुर डिम्डुङले नेपाली कांग्रेसको नेतृत्व गरेका थिए । कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र प्रदेश सभापति बानियाँको पहलमा लामा र पराजुलीवीच सहमति भएको थियो ।