हेटौंडा/ मकवानपुरको उच्च पहाडी भूभाग सिमभन्ज्याङ र दामन क्षेत्रमा भारी हिमपात कारण अवरुद्ध रहेको त्रिभुवन राजपथ सञ्चालनमा आएको छ ।
राजमार्ग सञ्चालनमा ल्याउन थाहा नगरपालिकाले डोजर प्रयोग गरिएको थियो भने प्रहरी पनि खटिएका थिए । डोजरले सडकमा जमेको हिउँ फालिएको थियो । प्रहरीले सावेलले सडकको हिउँ पन्छाएका थिए । ‘हिउँ पन्छाउन शुक्रबार बिहानदेखि सुरु गरिएको थियो । शनिबार राति सकियो ,’ इप्रका पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले भने । उनका अनुसार शनिबार मध्यरातबाटै बाटो सुचारु भएको छ ।
बिहीबार राति वर्षासँगै भारी हिमपात भएकाले हेटौंडा–काठमाडौं जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथअन्तर्गत सिमभन्ज्याङ र दामन क्षेत्रको सडकमा एक फिटभन्दा बढी हिउँ जमेको हो । त्रिभुवन राजपथको दामनदेखि गोलमोडसम्म हिउँ जमेको छ । हिउँप्रेमीहरू शुक्रबारदेखि सिमभन्ज्याङ र दामन क्षेत्रमा पुगेका छन् । उक्त क्षेत्रका होटल लजहरू अहिले भरिभराउ छन् ।