२०८१ बैशाख २८, शुक्रबार    

इन्डियन सुपर लिग खेल्ने पहिलो नेपाली फुटबलर बन्दै अनन्त

२०७८ माघ २८, शुक्रबार ०८:२७ बजे

काठमाडौं/ नेपाली राष्ट्रिय टिमका मुख्य डिफेन्डर तथा नियमित सदस्य अनन्त तामाङ इस्ट बंगालसँग अनुबन्धित भएका छन् । उनी यस क्रममा इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली खेलाडी हुन सक्नेछन् । डिफेन्डर अनन्तले कोलकाताको प्रसिद्ध फुटबल क्लबसँग यो सिजनको अन्त्यसम्मका लागि अनुबन्ध गरेका हुन् ।

यो सिजनको लिगमा चार खेल मात्र बाँकी रहेको छ । अनन्तले सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ मा थ्री स्टारबाट खेलिरहेका थिए । इस्ट बंगाल जानका लागि थ्री स्टारले आफूसँगको अनुबन्ध फुकुवा गर्दै अनन्तको भविष्यका लागि बाटो खुला गरिदिएको छ । उनी फ्रि ट्रान्सफरमा इस्ट बंगला गएका हुन् ।

इस्ट बंगाल आईएसएल अंक तालिकाको दसौं स्थानमा छ । सेट पिसका विशेषज्ञ रहेका अनन्त हेडबाट गोल गर्न पनि माहिर छन् । उनको यही विशेषताका कारण इस्ट बंगालले उनलाई अनुबन्ध गरेको छ । उनको आगमनपछि इस्ट बंगालको डिफेन्स अझ मजबुत हुने विश्वास गरिएको छ । इस्ट बंगालबाट यसअघि गणेश थापा र देवनारायण चौधरीले पनि खेलिसकेका छन् ।