२०८१ बैशाख ६, बिहीबार    

निर्वाचनका लागि मकवानपुरमा १८ सय कर्मचारी खटिए

२०७९ बैशाख २८, बुधबार १२:०५ बजे

स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा मतदान अधिकृतसहित झण्डै १८ सय कर्मचारी खटिएका छन् ।

दुर्गम ग्रामीण क्षेत्रमा मतदान अधिकृत निर्वाचन सामग्री लिएर मंगलबार बिहानै त्यसतर्फ लागेका छन् । सुगम क्षेत्रका मतदानस्थलमा भने कर्मचारीहरू मंगलबार अपराह्नतिर मात्रै खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मकवानपुरका १० स्थानीय तहका १०२ वडामा १६५ मतदानस्थल छन् भने ३५६ मतदान केन्द्र छन् । मंगलबार रातिसम्म निर्वाचन सामग्री लिएर मतदान अधिकृतहरू सम्बन्धित मतदान केन्द्रमा पुगिसक्ने कार्यालयको भनाइ छ । जिल्लाका केही मतदानस्थल विकट क्षेत्रमा पर्ने भएकाले कर्मचारी र सुरक्षाकर्मीलाई हिँडेर पुग्नुपर्ने बाध्यता छ । त्यसकारण पनि मंगलबार बिहानैदेखि कर्मचारीहरू निर्वाचन कार्यालयमा मतपेटिका, मतपत्रलगायत सामग्री बुझ्नमा व्यस्त थिए ।

निर्वाचन आयोगबाट प्राप्त मतदान सामग्री र मतदाता परिचयपत्रको प्याकेज बनाई पठाउने काम भइरहेको निर्वाचन आयोगको वाग्मती प्रदेश कार्यालय प्रमुख लुम्बनाथ अधिकारीले बताए । उनका अनुसार मकवानपुरका लागि ३ लाख २५ हजार मतपत्र आएको छ । ५ सय जनासम्म मतदाता रहेको केन्द्रमा ७ जना कर्मचारी र ५ सयभन्दा बढी मतदाता रहेको केन्द्रमा ८ जना कर्मचारी खटाइएको छ । ‘निर्वाचनका लागि जिल्लाभर कुल १ हजार ७ सय ७२ जना कर्मचारी खटिएका छन्,’ उनले भने ।

२ केन्द्रमा सबै कर्मचारी महिला 

जिल्लाका २ केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । मुख्य निर्वाचन अधिकृत दिल्लीरत्न श्रेष्ठका अनुसार हेटौंडा–२ स्थित सिद्धार्थ मावि मतदानस्थलको ‘घ’ केन्द्रमा मतदान अधिकृत विष्णुकुमारी लामिछानेको नेतृत्वमा ४ जना महिला कर्मचारी खटाइएको छ । यसैगरी, हेटौंडा–१२ स्थित महेन्द्र मावि मतदानस्थलको ‘घ’ केन्द्रमा शान्तिमाया मोक्तानको नेतृत्वमा खटिने सबै कर्मचारी पनि महिला छन् ।