२०८१ बैशाख १४, शुक्रबार    

‘वडा समाजवादी’ कार्यक्रम लागू गर्ने कार्यविधि स्वीकृत

२०७९ कार्तिक १, मंगलबार १४:३० बजे

चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भएको वडा समाजवादी कार्यक्रम कार्यविधि बनाएर कार्यान्वयन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो।  शुक्रबार यहाँ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको चालू आवको नीति तथा कार्यक्रममा प्राथमिकतामा रहेको वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले कार्यविधि स्वीकृतिसँगै चालू आवमा वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न बाटो खुलेको भन्दै संविधानले समेत समाजवादलाई लक्ष्य बनाएको र त्यसलाई वडाबाट कार्यान्वयन गर्न नमुना कार्यक्रमहरू सञ्चालन गरिने बताए । 

प्रदेशका ११९ वटै पालिकाको एक÷एक वडामा यो कार्यक्रम लागू गरिने भएको छ। सरकारले हाल २५ करोड रुपियाँ विनयोजन गरेको र एउटा वडालाई कार्यक्रम कार्यान्वयन गर्न एक करोड रुपियाँ विनियोजन गरिने भन्दै मन्त्री खनालले बताए, “११९ वटै पालिकाको एक÷एक वडामा यो कार्यक्रम लागू गर्न बजेट अभाव हुँदैन।”

यस्तै बैठकले साझेदारीमा नवप्रवर्तनका कार्यक्रमहरू सञ्चालन गर्न पालिकाहरू छनोट गर्ने निर्णय गरेको छ। धादिङको नीलकण्ठ नगरपालिका, खनियाँबास गाउँपालिकालगायतका सातवटा पालिका कार्यक्रम लागू गर्न छनोट भएको प्रवक्ता खनालले बताउनुभयो। छनोटमा परेका पालिकामा प्रतिपालिका एक करोड ४० रुपियाँ बजेट जाने र कृषि, स्वास्थ्य, उद्योगलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने भएको छ।