हेटौंडा/ हेटौंडामा सञ्चालित रिद्धिसिद्धि सिमेन्टको चुनढुंगा खानीका कारण स्थानीय समस्यामा परेका छन् । उद्योगले राक्सिराङ–४ स्थित गिङ्ङु क्षेत्रमा चुनढुंगा उत्खनन् गर्न थालेसँगै त्यसक्षेत्रमा बसोबास गर्ने अतिसीमान्तकृत चेपाङ समुदाय दैनिक सास्ती भोग्न बाध्य भएका छन् ।
चुनढुंगा उत्खननको क्रममा स्थानीयको घर नै पुरिन थालेको भन्दै उनीहरूले तत्काल पुनर्बासको माग समेत गरेका छन् । करिब ६० जना स्थानीयबासीहरूले तत्काल पुनर्बासको व्यवस्था गर, जर्बजस्ती घरबास उठाउन बन्द गर, उचित मुआब्जाको व्यवस्थाको माग गरेपनि सरोकारवाला पक्ष मौन बस्दा उनीहरुको दैनिक कष्टकर बनिरहेको छ ।
राक्सिराङ क्षेत्रमा चेपाङ समुदायहरू केही समयअघिसम्म आन्दोलनमा उत्रिएका थिए । तर, आन्दोलनरत चेपाङ परिवार नै विस्थापित भइसकेको मानव अधिकार आयोगको अध्ययनले देखाएको छ । आयोगका अधिकृत किरण बरालले खानी क्षेत्रका करिब ३५ घरधुरी विस्थापित भइसकेको जानकारी दिए । आयोगका अनुसार १८ जना परिवार सदस्य रहेको स्थानीय गोठे चेपाङ राक्सिराङ–४ का विश्वराज मोक्तानको घरमा आश्रय लिएर बसिरहेको र खानी क्षेत्रमा रहेको गोठे चेपाङको जग्गा दलालमार्फत् उद्योगलाई बिक्री भइसकेको खुल्न आएको छ ।
उद्योगले गोठे चेपाङको जग्गा अधिग्रहण गरेपछि उनी मोक्तानको घरमा आश्रय लिएर बस्न बाध्य भएका हुन् । आयोगका अनुसार खानी क्षेत्रबाट विस्थापित भएका केही बासिन्दा मनहरी गाउँपालिका–७ मा आएर बसेका छन् । अन्य विस्थापित परिवार तितरबितर भइसकेको आयोगको अध्ययनले देखाएको छ ।
गिङ्ङु क्षेत्रका अधिकांश चेपाङ परिवार विस्थापित भइसकेपछि स्थानीय विद्यालय बन्द रहेको आयोगका उपसचिव हरि प्रसाद ज्ञवालीले जानकारी दिए । चेपाङ संघ मकवानपुरका अध्यक्ष पूर्णबहादुर प्रजाले गिङ्ङुका चेपाङ बस्ती विस्थापित भएपछि आफन्तकोमा बस्दै आएको बताए ।
उनले गिङ्ङुका २२ घर परिवार मर्नु न बाँच्नुको अवस्थामा रहेको जनाए । पीडित परिवार नै विस्थापित हुन थालेपछि राक्सिराङ गाउँपालिका र उद्योगका प्रतिनिधिबीच समस्या समाधान गर्न भन्दै ११ बुँदे समझदारी भएको थियो । उद्योगले उक्त सहमति कार्यान्वयन नगरेर झन समस्या खडा गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । उद्योगले गाउँपालिकासाग समन्वय नै नगरी खानी सञ्चालन गरेकोले समस्या जटिल बनेको मल्ल बताउँछन् ।