२०८१ जेठ ५, शनिबार    

वाग्मतीका मानव अधिकार रक्षकको सम्मेलन हेटौंडामा

२०७८ फाल्गुन १९, बिहीबार १८:५५ बजे

हेटौंडा/ वाग्मती प्रदेशभरका मानव अधिकार रक्षकहरुको भेला हेटौंडामा दुई दिनसम्म हुने भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको आयोजनामा शुक्रबार र शनिबार प्रादेशिक सम्मेलन हुन लागेको हो । सातवटै प्रदेशमा शुक्रबार र शनिबार एकैपटक सम्मेलन सुरु गरिने जनाइएको छ । हेटौंडामा पत्रकार सम्मेलन गर्दै मानव अधिकार आयोग प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारीले पहिलो पटक देशको सातवटै प्रदेशमा प्रादेशिक सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।

मानव अधिकार रक्षा, चुनौती, समस्याहरुलाई छलफल गरी घोषणापत्र तयार सहित सरकारलाई बुझाउने तयारी छ । सम्मेलनमा ३० वटा भन्दा बढी मानव अधिकारका संघसंस्थाका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि गरी १३० जनाको सहभागिता रहने जानकारी दिइएको छ ।

आयोगका प्रदेश प्रमुख अधिकारीले प्रदेशस्तरमा मानव अधिकार रक्षकहरुको अवस्थाको बारेमा छलफल, अध्ययन, विश्लेषण गरिनुका साथै रक्षकहरुको भूमिका र जवाफदेहिताको अवस्था, समिक्षा र आगामी दिनमा रक्षकहरुको भूमिकालाई थप प्रभावकारी बनाइने जानकारी दिए ।