२०८१ बैशाख १७, सोमबार    

नेपालले अमेरिकासँग हार्नुको मुख्य पाँच कारण

२०७९ असार २, बिहीबार ०९:५० बजे

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकासँग ३९ रनले पराजित हुन पुग्यो । जितको लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४७.४ ओभरमा २ सय ६ रनमा अल आउट भयो । नेपालका आरिफ शेखले ७६ बलमा ३ चौकासहित सर्वाधिक ६३ रनको योगदान दिए । आरिफको ओडिआई करिअको यो तेस्रो अर्धशतक हो । सोमपाल कामी ७२ बलमा १ चौकासहित ४७ रनमा रन आउट भए । देव खनाल ४७ बलमा २ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

एक समय ९३-५ को खराब सुरुवात गरेको नेपाललाई छैटौं विकेटका लागि आरिफ र सोमपालले १ सय ६ रनको कीर्तिमानी साझेदारी गर्दै खेलमा पूनरागमन गराएका थिए । तर अन्तिम ७ रन जोड्न नेपालले पाँच विकेट गुमाएपछि पराजित हुन पुगेको हो । अमेरिका सौरभ नेत्रवालकरले ९ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । अली खानले ८।४ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए । त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो ।

अमेरिका गजानन्द सिंहले ६० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । सुशान्त मोदानीले ८३ बलमा ७ चौकासहित ५४ रनको योगदान दिए । स्पिनर सागर ढकालले १० ओभरमा २१ रन खर्चिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा ५७ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । अमेरिकासँग जित नजिक पुगेर पनि नेपाल पराजित हुनुको प्रमुख पाँच कारण यस प्रकार छन् ।

५. सुरुवातमा करणले साथ नपाउनु

तीव्र गतिका बलर करण केसीले नेपाललाई सुरुवातमा उत्कृष्ट सुरुवात दिलाएका थिए । अमेरिका शीर्षक्रमका ब्याटरमा बढी निर्भर छ । पहिलो ओभरको पाँचौं बलमै स्टिभन टेलरलाई करणले एक रनमा आउट गरेका थिए ।

तेस्रो ओभरको पाँचौं बलमा मोनांक पटेललाई करणले चार रनमा पेभेलिएनको बाटो देखाउँदा अमेरिका ८–२ को अवस्थामा पुगेको थियो । त्यो अवस्थामा थप एक दुई विकेट लिन सकेको भए अमेरिका सस्तैमा अल आउट हुने थियो । तर सोमपाल कामी सहित अन्य बलरले राम्रो सुरुवात भने दिलाउन सकेनन् ।

पहिलो पावर प्लेमै तीन चार विकेट गुम्दा मध्यक्रमका ब्याटरमा दबाब अत्याधिक हुन्छ । जुन अवस्थामा विकेट ब्याटरले आफैं दिने सम्भावना हुन्छ । तर अर्को एण्डबाट करणले साथ पाएनन् । तेस्रो विकेटका लागि आरोन जोन्स र सुशान्त मोदानीले ८८ रनको साझेदारी गरे । जुन साझेदारी अमेरिका जितको टर्निङ प्वाइन्ट बन्यो । त्यो साझेदारीले मध्यक्रमका ब्याटरलाई राम्रो वातावरण बनाइदियो । त्यसैले गजानन्द सिंह र साइतेजा मुक्कामल्लाले राम्रो ब्याटिङ गर्दै पाँचौं विकेटका लागि ८५ रनको साझेदारी गरे । यी दुई साझेदारी तोड्न नसक्नु हारको कारण हो । यी दुई साझेदारी समयमै तोड्न सकेको भए नेपालले सहज जित हात पार्न सक्थ्यो ।

४. सोमपाल रन आउट हुनु

क्रिजमा कुनैपनि नयाँ ब्याटरलाई खेल्न सहज हुँदैन । आरिफ र सोमपाल मध्य एक अन्तिम सम्म क्रिजमा हुनुपर्ने थियो । जसले आदिल र करणलाई विष्फोटक ब्याटिङ गर्न सहज हुन्थ्यो । सोमपालले क्रिजमा लामो समय बिताएका थिए । विपक्षीलाई राम्रोसँग बुझेका थिए । आरिफ आउट भएपछि सोमपालले उत्कृष्ट ब्याटिङ गर्नुपर्ने थियो ।

नेपालले ३६ बलमा ५० रन चाहिँएको अवस्थामा एक बलरलाई एक ओभरमा १५-२० रन प्रहार गर्दा पुरा हाबी बन्न सक्थ्यो । त्यसको लागि नेपालले एक बलरलाई टार्गेट बनाउनु पर्ने थियो । तर सोमपाल आरिफ आउट भएको दुई बलपछि रन आउट भए । जुन रन आउटले नयाँ ब्याटरलाई पुरै दबाब थप्यो ।

करण र आदिललाई समय लिएर खेल्ने अवस्था पनि थिएन । किनभने बाँकी पाँच ओभरमा ४७ रन बनाउनु पर्ने थियो । जति बल डट खेल्यो त्यतिनै नेटरनरेट बढ्दै जाने थियो । जसको कारण दबाबमा ठूलो सटको चक्करमा करण बोल्ड भए । करण बोल्ड भएसँगै नेपालको जितको आशा टाढिएको थियो ।

३. कमजोर फिल्डिङ

कमजोर फिल्डिङ नेपालको हारको अर्को कारण हो । यो खेलमात्र होईन यस सिरिजभर फिल्डिङ चिन्ताको विषय बन्यो । अमेरिकाविरुद्ध पनि नेपालको कमजोर फिल्डिङले निरन्तरता पायो । नेपालको कमजोर फिल्डिङको फाइदा उठाउँदै अमेरिकाले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । अन्तिम १० ओभरमा नेपालको फिल्डिङ झनै कमजोर थियो ।

२. खराब ब्याटिङ

ओडिआईमा २ सय ४६ रन बनाउन एसोसियट होस् वा टेस्ट टोली जो कोहीलाई राम्रो सुरुवात चाहिँन्छ । सुरुवातले जित वा हारमा धेरै निर्धारण गर्ने गर्दछ । तर नेपालको सुरुवात राम्रो हुन सकेन । दुबै ओपनर आसिफ शेख १८ र कुशल भुर्तेल १० रनमा आउट भए । अघिल्लो खेलमा कुशल र आसिफले ओमानविरुद्ध १ सय १४ रनको शतकीय साझेदारी गरेका थिए । दुबै ओपनर आउट भएपछि नेपालको मध्यक्रम झनै धरासय बन्यो ।

रोहित पौडेल १६ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । दीपेन्द्र र रोहितको ब्याटिङक्रम समेत परिवर्तन भएको छ । दीपेन्द्र यसअघिका सिरिजमा चौथो नम्बरमा ब्याटिङ गर्ने गर्दथे । तर यस पटक उनलाई पाँचौं नम्बरमा प्रयोग गर्यो । जसले गर्दा उनको प्रदर्शन राम्रो हुन सकेन । नेपालले खराब सुरुवात गर्नेक्रममा २१.२ ओभरमा ९३–५ को अवस्थामा पुगेको थियो ।

जसको कारण अमेरिकाले खेलमा पकड जमायो । सोमपाल र आरिफको शतकीय साझेदारीले टोली पुन खेलमा फर्किएको थियो । तर यी दुई मध्य एक आउट हुँदा जित कठिन थियो । शीर्षक्रम र प्रमुख ब्याटरको खराब ब्याटिङ हारको मुख्य कारण हो ।

१. फिनिसिङमा चुक्नु

नेपाललाई जितको लागि अन्तिम ३६ बलमा ५० रन चाहिँदा हातमा पाँच विकेट थियो । क्रिजमा सोमपाल कामी ४५ र आरिफ शेख ६० रनमा क्रिजमा थिए । सोमपाल र आरिफलाई छाड्दा आदिल अन्सारी र करण केसी जस्ता विष्फोटक ब्याटर आउन बाँकी थियो । आधुनिक क्रिकेटमा ३६ बलमा ५० रन पूरा गर्न सामान्य मानिन्छ ।

तर नेपालले ४४ ओभरमा १९५–५ को अवस्थाबाट ४७.४ ओभरमा २ सय ६ रनमा अल आउट भयो । नेपालले उक्त अवस्थाबाट मात्र ११ रनमा सबै विकेट गुमाएको थियो । अन्तिम ५ विकेट मात्र ७ रन जोड्दा गुमाएको थियो । खराब सुरुवातको बाबजुद नेपाल सहज जित नजिक थियो । तर फिनिसिङमा नाटकीय विकेट पतनले हार्न पुग्यो । फिनिसिङमा चुक्नु नै नेपालको हारको मुख्य कारण हो ।