२०८१ बैशाख २७, बिहीबार    

सन्तोष चौलागाईं भन्छन : मन्त्री ढकालले राजनीतिक प्रतिशोध साध्न खोजे

२०७८ माघ २६, बुधबार १८:२३ बजे


हेटौंडा/ वाग्मती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईं वाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालमाथि गम्भिर आरोप लगाएका छन् ।

उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफूलाई र कर्मचारीलाई मानसिकरुपमा काम गर्न हतोत्साहित बनाउने काम मन्त्री ढकालले गरिरहेको आरोप लगाए । ‘मलाई राजनीतिक प्रतिशोधका आधारमा मन्त्रीस्तरीय निर्णयभन्दै स्पष्टिकरण सोधिएको छ । म चारवर्षका लागि उपाध्यक्षमा नियुक्त भएको हुँ ।’, उनले स्पष्टिकरणमा सोधिएको राजनीतिक र कानुनी प्रश्नहरुको सोही अनुसार जवाफ दिइरहेको बताए । ‘म राजनीतिक प्रश्नको राजनीतिबाट र कानुनी प्रश्नको कानुनबाटै जवाफ दिनेछु । मन्त्री ढकालले मलाई बर्खास्त गर्ने दुषित मनसायले स्पष्टिकरण सोधेको हुन् ।’

युवा तथा खेलकुद मन्त्रालयमा करिब ११ करोड मात्र बजेट रहेको छ । रकामान्तर गरेर बजेट थपिने बताएपनि करिब ५ करोड रुपैयाँ बजेट रहेको युवा परिषद्मा नयाँ उपाध्यक्ष नियुक्त गर्न चौलागाईं बाधक देखिएपछि उनीहरुवीच आन्तरिक द्वन्द्व बढेको हो । मन्त्री ढकालले लामो समयदेखि चौलागाईंले गर्दै आएको काममा बाधा गर्दै आइरहेका छन् ।

सरकारले एक हप्ताभित्र मन्त्रीस्तरबाट र मन्त्रिपरिषद्को वैठकबाट भएको राजनीतिक नियुक्त खारेज गर्ने तयारी गरेको सरकार प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले जानकारी दिए । चौलागाईंलाई हटाउने उद्देश्यका साथ मन्त्री ढकालले दुईपटक उनलाई स्पष्टिकरण सोधिसकेका छन् । उनले पनि जवाफ दिइरहेका छन् ।

प्रदेश सरकारले डोरमणि पौडेल नेतृत्वको सरकारले गरेको राजीतिक नियुक्ती खारेज गर्ने प्रक्रिया अगाडि बढाएसँगै मन्त्री ढकाल र परिषद् उपाध्यक्ष चौलागाईंवीचको मनमुटाव थप चर्किने निश्चित देखिन्छ । हाल राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा रहेका ढकाल माओवादीका तर्फबाट मन्त्री नियुक्त भएका हुन् । उनी नियुक्त भएसँगै एमालेको तर्फबाट उपाध्यक्ष भएका चौलागाईंलाई काम गर्न अप्ठेरो पार्दै आएका छन् ।