२०८१ जेठ ७, सोमबार    

अघिल्लो निर्वाचनको लेखाजोखा गर्दै दलहरु

२०७९ बैशाख १७, शनिबार १०:१० बजे

स्थानीय तहको निर्वाचनमा अहिले दलहरु होमिएका छन् । मकवानपुरमा विशेष गरी हेटौंडा उपमहानगरपालिका चर्चाको शिखरमा रहेको छ । अहिले सत्तारुढ गठबन्धन र नेकपा एमालेवीच प्रतिस्पर्धा हुने प्रारम्भिक संकेत देखिएको छ । अहिले दलहरु घरदैलोका साथै अघिल्लो चुनावको समिक्षा गरिरहेका छन् ।

२०७४ को निर्वाचनमा हेटौंडा उपमहानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । नेकपा एमाले र राप्रपा एक्ला–एक्लै निर्वाचनमा होमिएका थिए । कांग्रेस र माओवादीको गठबन्धनलाई पाखा लगाउँदै एमालेबाट प्रमुख र उप्रमुख विजयी भए । प्रमुखमा हरिबहादुर महतले कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीलाई ६ सय १५ मतान्तरले पराजित गरे । महतले २३ हजार १ सय २४ र पराजुलीले २२ हजार ५ सय ९ मत ल्याएका थिए । उपप्रमुखमा एमालेकी मिनाकुमारी लामाले २३ हजार ४ सय ३७ र माओवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत ल्याएका थिए । प्रमुखमा पराजुलीले पाएको मतमा ७ हजार ४ सय र उपप्रमुखमा बलले पाएको मतमा करिब ९ हजार मत बदर भएको थियो ।

अहिले सत्तारुढ गठबन्धन बदर मतलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर आन्तरिक तयारी गरिरहेको छ । एमाले आफ्नो मतलाई सुरक्षित गर्ने तरखरमा देखिन्छ । अहिले पनि गठबन्धन भएका कारण आफ्नो मत सुरक्षित राख्न सके सजिलै चुनाव जितिने आँकलन एमालेको छ । एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले चुनाव सजिलै जित्ने दावी गर्छन । कांग्रेस सभापति बुद्ध लामा गठबन्धन कसरी बन्यो भनेर जनता जानकार भएका कारण सोही अनुसार मतदान हुनेमा ढुक्क देखिन्छन् ।

एमाले विभाजनपश्चात् नेकपा एस रोजेकी उपमेयर मीना लामा यस पटक गठबन्धनबाट उम्मेदवार बनेकी छन् । कांग्रेसबाट राजेश बानियाा उपप्रमुखको उम्मेदवार छन् । गठबन्धनले अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादी मात्र मिलेको अवस्थामा झिनो मतान्तरले पराजित भएको र धेरै मत बदर भएका कारण पराजित भएपनि यसपटक चार दलबीच गठबन्धन भएको अवस्थामा करिब १० हजार मतान्तरले प्रमुख, उपप्रमुखमा विजयी हुने दाबी गरिरहेको छ ।

नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका संविधानसभा सदस्य अनन्त पौडेल र अनेमा संघ नेतृ सुमित्रा काफ्ले सहजै जीत हात पार्नेभन्दै चुनावी ऐजेण्डासहित निर्वाचनमा होमिएका छन् । राप्रपाबाट पुराना नेता दीपकबहादुर सिंह चुनावी मैदानमा होमिएका कारण उनले तठस्थ मत आफ्नो पक्षमा पार्ने र त्यसबाट एमालेलाई फाइदा पुग्ने दावी कार्यकर्ताकोहरुको छ ।