२०८१ बैशाख २०, बिहीबार    

कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी

२०७९ श्रावण १६, सोमबार १५:४६ बजे

मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरिएको छ । मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्नेगरि सूचकहरुमा काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार बालमैत्री स्थानीय शासनका ५१ वटा न्यूनतम सूचकहरु तोकिएका छन् । जसमा बाल बचाउतर्फ १४, बाल संरक्षणतर्फ १०, बाल विकासतर्फ ६, बाल सहभागितातर्फ ६ र संस्थागत विकासतर्फ १५ वटा सूचक तोकिएका छन् ।

दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको हुनुपर्ने, ५ वर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, स्थानीय तह बालविवाह मुक्त भएको हुनुपर्ने, सडक बालबालिकाको संख्या शून्य भएको हुनुपर्ने, ५ देखि १४ वर्ष उमेरसमूहका शतप्रतिशत बालबालिकाले आधारभूत शिक्षा पुरा गरेको हुनुपर्ने लगायतका बालबालिकाको अधिकारसँग सम्बन्धित बिषयहरु सूचकको रुपमा छन् ।

कैलाश गाउँपालिका देशकै छैठौं र मकवानपुरको चौथो बालमैत्री घोषणा भएको पालिका हुनेछ । यसअघि मकवानपुरको मनहरि, बकैया र मकवानपुरगढी, पाल्पाको रम्भादेवी र दोलखाको कालिन्चोक गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भैसकेका छन् ।

पालिकालाई बालमैत्री स्थानीय शासन घोषणाका लागि साउनको पहिलो हप्तादेखि वडास्तरीय रणनीति तथा कार्ययोजना तयारी सम्बन्धी वडावडामा छलफल भैरहेको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । यसका लागि १० जना वडास्तरीय र १ जना पालिकास्तरीय स्वयंसेवकले फिल्डमा काम गरिरहेको उनले जानकारी दिए ।

पालिकाले बालमैत्री घोषणाको तयारीस्वरुप गएको साउन १० गत शीर्षक सरलिकरण र आचारसंहिता निर्माण कार्यक्रम गरेको थियो । असार १३ र १४ गते पालिकास्तरीय बालमैत्री स्थानीय शासन रणनैतिक योजना तर्जुमा अभिमुखिकरण कार्यक्रम भइसकेको छ ।