२०८० चैत्र १५, बिहीबार    

महेन्द्र माविको २१ कोठे भवनको उद्घाटन

२०७९ श्रावण २५, बुधबार १७:२५ बजे

हेटौंडा–१३, महेन्द्र माध्यामिक विद्यालयको नवनिर्मित २१ कोठे भवनको उद्घाटन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडलले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

जापानी सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा बनेको विद्यालय भवन ६ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । भवन तोकिएको समयभन्दा अगाडी नै सम्पन्न भई उद्घाटन भएको बतार्ईएको छ ।

भवन उद्घाटन गर्दै शिक्षामन्त्री पौडेलले शैक्षिक विकाससँगै महेन्द्र माविलाई नमुना विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले व्यवहारिक शिक्षालाई जोड दिँदै प्रबिधिसँग जोडिने धारणा राखे । २१ कोठे भवनमा लाइब्रेरी पुस्तकालय, विज्ञान प्रयोगशाला र पठनपाठन हुनेछ । २०७२ सालको विनाशकारी भुकम्पबाट महेन्द्र माविको शैक्षिक तथा भौतिक संरचना पूर्ण क्षति भएको थियो ।

मकवानपुर जिल्लाका ४ सय १५ वटा भवन पुनः निर्माण भइसकेका छन् । महेन्द्र माविमा ८ सय ३२ जना विद्यार्थी अध्ययनरत छन् भने २८ जना शिक्षकको दरबन्दी रहेको छ । शिक्षक सविता लामिछानेले विद्यालयको प्रगति विवरण राख्दै कक्षा–११ र १२ मा वाणिज्य, मानविकी र शिक्षा संकायमा अध्यन अध्यापन हुने गरेको जानकारी दिइन् । विद्यालयमा छुट्टै पुस्तकालय भवन, विज्ञान प्रयोगशाला, कम्प्युटर इन्जिनियरिङको भवन अझै आवश्यक रहेको उनको भनाइ छ । नमुना विद्यालयका रुपमा महेन्द्र माविलाई पनि जोड्न जरुरी रहेको उनले बताइन् । खेल मैदान, सोलार, विद्यालयलाई कम्पाउण्ड वालले घेर्नुपर्ने, सभा भवन, छात्रावासको व्यवस्था र अन्य सेवासुविधा थप गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

महेन्द्र माविका व्यवस्थापन समितिका अध्यक्ष शंकरबहादुर रोक्काको सभाध्यक्ष तथा शिक्षामन्त्री पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगायतको उपस्थिति थियो ।