२०८१ बैशाख १४, शुक्रबार    

बजेट कम भएपनि धेरै काम गर्नुछ : मन्त्री श्रेष्ठ

२०७९ असार १५, बुधबार १३:०७ बजे

बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले सरकारले उद्योग र आपूर्ति क्षेत्रका नीति निर्माणलाई महत्वका साथ अघि बढाएको बताएका छन् । बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेट माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले कम बजेटले पनि धेरै कामहरु गर्नुपर्ने बताए ।

विगतमा निर्माण हुन नसकेका धेरै किसिमका उद्योग वाणिज्य क्षेत्रका नीतिहरु निर्माणमा प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्राथमिकताका साथ अघि बढाउने बताए । उनले सरकारले उद्योग तथा आपूर्ति क्षेत्रका सेवाग्राहीको सहजताको लागि अनलाइनबाटै सेवा लिन सक्ने व्यवस्था मिलाउने तयारी भइरहेको बताए ।

सरकारले रुग्ण उद्योगहरुको संचालनको लागि संघीय सरकारसंग सहकार्य भइरहेको र त्यसका लागि प्रदेश सरकारले आवश्यक पहल गरेर योजनाहरु समेटेर जाने उनको भनाइ छ । सरकारले साना तथा मझौला उद्योगीहरुको विकासका लागि तालिमहरूको व्यवस्था गर्ने उनले बताए । उनले स्थानीय तहमा उत्पादित सामग्रीहरुको ब्राण्डिङको लागि आवश्यक पहल गरी कार्यान्वयन गरिने उनले बताए ।

बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका ४ वटा औद्योगिक क्षेत्रको विकासका लागि प्रदेश मातहतमा ल्याउने पहल भइरहेको र मातहतमा आए लगत्तै विकासका योजनाहरु ल्याउने उनले बताए । संसद्मा उठेका प्रश्न र सांसदहरुको राय सुझावलाई आगामी आर्थिक वर्षको बजेटको कार्यान्वयनको चरणमा समावेश गर्दै जाने उनको भनाई छ ।