२०८१ जेठ ३, बिहीबार    

हेटौंडा–२ मा सुदिप राजबाहकको घरदैलो अभियान सुरु

२०७९ बैशाख १८, आईतबार १८:४८ बजे

नेपाली कांग्रेसले टिकट नदिएपछि हेटौंडा–२ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका सुदिप राजबाहकले घरदैलो अभियान सुरुवात गरेका छन् ।

उनले १३ बुँदे घोषणापत्र जारी गर्दै घरदैलो अभियान सुरुवात गरेका हुन् । आफ्नो पक्षमा युवा र ज्येष्ठ नागरिकको समर्थन रहेको दावी गर्दै उनले सहजै चुनाव जित्ने दावी गरेका छन् । आफ्नो प्रतिबद्धता पत्र पनि सन्तुलित रहेको र मत माग्ने क्रममा सवैबाट सकारात्मक प्रतिक्रिया आएको राजबाहकले बताए । उनले आफ्नो प्रतिबद्धता पत्रमा खेलकुद र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएका छन् । उनले खेलक्षेत्रमा प्रतिवर्ष दशलाख रुपैयाँ विनियोजन गर्ने बताएका छन् ।

‘हेटौंडा–२ लाई पूर्णरुपमा लागूऔषध सेवनमुक्त क्षेत्रको बनाउनेछु । वडाको सम्पूर्ण महिला र ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य वीमा गर्नेछु ।’, उनले आफू निर्वाचित भएपश्चात् हेटौंडा–२, बासुदेव मार्ग र वनस्खण्डी रोडसहित सम्पूर्ण भित्र सडकहरुको आवश्यकता अनुसार स्तरोन्नति गरिने बताए ।

‘मुख्यमन्त्रीको निवासदेखि चौकीटोलसम्म वनको बाटोमा ‘वाकिङ स्ट्रिट’ निर्माण गरिनेछ । वडाको सम्पूर्ण ढलहरु व्यवस्थित गरिनेछ ।’, उनको घोषणा पत्रमा वडाभित्रको सम्पूर्ण भित्रि सडक पक्की बनाउने उल्लेख छ । ‘वेरोजगार र गरिवीको रेखामुनी रहेकाहरुलाई नि:शुल्क खाद्यान्न उपलब्ध गराउनेछु । ’, राजबाहकले सीपमूलक तालिम प्रदान गरी विदेश जान र स्वरोजगार बन्न इच्छुक व्यक्तिलाई वडा तहबाटै विनाधितो सस्तो व्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

‘टोल–टोलमा गोल’ अभियानमार्फत् खेलाडी उत्पादन गरिनेछ उनले बताए । ‘प्रत्येक टोलमा बत्ती र सीसीटीभी जडान गरी झिलिमिली वडाको रुपमा विकास गर्नेछु । १२ कक्षासम्मका विद्यार्थीलाई नि:शुल्क पठनपाठनका लागि आवश्यक पहल गर्नेछु ।’, उलने ‘ज्येष्ठ नागरिक पार्क’ निर्माण गरी उनीहरुको स्वास्थ्य परीक्षण र पोषणको व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा उनी कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा कांग्रेसका सवै पराजितहुँदा उनी विजयी भएका हुन् ।