२०८१ बैशाख १६, आईतबार    

नवउद्यमी खोज्दै उद्योग संघ

२०८० भाद्र ७, बिहीबार १९:१८ बजे

उद्योग संघ मकवानपुरले नवउद्यमशीलता विकासमा जोड दिएको छ ।

संघले उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडा र अन्तरप्रेरणा प्रालिसँगको सहकार्यमा नवउद्यमीहरुको खोजी गर्दै उनीहरुको व्यवसाय प्रबद्र्धनामा सहयोग गर्ने भएको हो ।

नवउद्यमशीलहरुलाई लक्षित गर्दै संघले एआईएम नवउद्यमशाला बुटक्याम्पमा हेटौंडामा सञ्चालन गर्ने विहीबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।
मकवानपुर जिल्लाभित्र रहेका नव उद्यमीको पहिचान गर्दै उद्यमशीलताको परिस्थिती प्रणालीलाई सुदृढ गर्ने लक्ष्य राखेर क्याम्प गर्न लागिएको संघका अध्यक्ष स्वागतराज प्याकुरेलले जानकारी दिए ।

‘नवीनतम् सोच वा व्यवसाय भएकाहरुले नव उद्यमशाला कार्यक्रममा सहभागी हुन सक्ने र युवाहरुलाई आफ्नो नवीन व्यवसायीक विचारहरुलाई दिगो व्यवसायमा परिणत गर्नको लागि उद्यमशाला बुटक्याम्प गर्न लागेका हौं ।’, उनले सबैको साथ सहयोगले कार्यक्रमलाई सम्पन्न गर्ने लक्ष्य लिएको अध्यक्ष प्याकुरेलले बताए ।

कार्यक्रममा १५ देखी १८ लाख खर्च हुने अनुमान आयोजकको छ । २३ गते सम्म आवेदन लिएपछि २० जनालाई छनौट गरिने संघका निवर्तमान अध्यक्ष एवम् बुटक्याम्पका कार्यक्रम संयोजक लेखराज पोखरेलले जानकारी दिए । छनौटमा परेका नवउद्यमीलाई चार दिन कार्यशाला र एक दिन हाटबजारमा संलग्न गराउने र विज्ञहरु मार्फत उनीहरुलाई सल्लाहसुझाव प्रदान गरिने संयोजक पोखरेलले बताए ।