२०८१ बैशाख १६, आईतबार    

जनचेतना सहकारीद्वारा ४६ लाख रकम हिनामिना

२०७९ जेठ ८, आईतबार १७:२२ बजे

हेटौंडाको एक सहकारीले बचत कर्ताको ४६ लाख भन्दा बढी रकम योजनाबद्ध तरिकाले हिनामिनागरेको पाइएको छ ।हेटौंडा–२, संगमचोकमा रहेको जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाले करिब ८ सय जना बचत कर्ताको ४६ लाख भन्दा बढी रकम हिनामिना गरेको हो । सहकारीले आर्थिक अपचलन गरेको करिब एक वर्ष हुन लागेको छ ।घटना बारे थाहा पाउन करिब एक वर्ष अगाडि फर्किनु पर्ने हुन्छ । गत वर्ष साउन महिनामा काठमाडौंको ग्वार्खोस्थित वेलहम्स बचत तथा ऋण सहकारी संस्थाको शाखा हेटौंडामा खुल्यो । सहकारीले साउनदेखि पुससम्म करिब १५ जना बजार प्रतिनिधि राखेर धमाधम लाखौं रकम बचतका नाममा संकलन गरेको थियो ।

काठमाडौंमा दर्ता भएको सहकारी हेटौंडामा सञ्चालन हुन नपाउने भन्दै तत्कालीन सञ्चालक यमनारायण रजौटाले ८ नम्बर वडाका रामकृष्ण अधिकारी र राजिव तामाङसँग मिलेर हेटौंडा–१२ पदमपोखरीको जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था खरिद गरे ।वेलहम्सको व्यवसायिक साझेदारका रुपमा जनचेतना स्वाबलम्बन साकोसले नियमित बचत उठाउन थाल्यो । नियमित बचत संकलन भइरहेको बेला सहकारीका तत्कालीन अध्यक्ष रजौटाले गतवर्ष पुसमा बचतकर्ताको ५१ लाख रुपैयाँ लिएर फरार भएको पीडितहरुले बताएका छन् । गत कार्तिकदेखि लगानीसहित जनचेतनाको अध्यक्षमा कमानेका अधिकारी र तामाङ कोषाध्यक्ष भएर आए । सहकारीका कोषाध्यक्ष तामाङले वेलहम्सका सञ्चालक रजौटाले ५१ लाख रुपैयाँ लिएर गएको आरोप लगाए । ‘रजौटाले हामीलाई सहकारी जिम्मा लगाएर जाँदा ५१ लाख रुपैयाँ लानु भएको रहेछ । हामीलाई पनि झुक्काएर यस्तो काम भयो ।,’

उनले भने, तामाङका अनुसार रजौटाले १८ लाख रुपैयाँ कार्यालय खर्च र बाँकी बचत कर्ताले संकलन गरेको रकम लिएर गएको बताए । हाल अधिकारी र तामाङ प्रहरीको सम्पर्कमा छन् । पीडितहरुले सहकारीमा संकलित बचत रकम हिनामिना गरेको आरोपमा अधिकारी र तामाङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर पु¥याएका हुन् ।

काठमाडौं घर भएका रजौटाले सहकारीमा ठगी गर्ने उद्देश्यले धेरै बजार प्रतिनिधि राखेर लाखौंरकम उठाएको आशंका पीडितसमेत रहेकी तत्कालीन बजार प्रतिनिधि दिपिका शर्माले बताइन् । उनै शर्मासहितको टोलीले उठाएकोरकम रजौटाले लिएर फरार भएको शर्माले आरोप लगाइन् ।

‘हामीले नियमित संकलन गथ्यौं । रजौटाले लाखौं पैसा उठाएर भागेको रहेछ । हामीलाई सहकारीमा पछि नयाँ कर्मचारी आएपछि मात्रै थाहा भयो । यसमा सबैको मिलेमतो छ ।,’ शर्माले भनिन् । पुसमा रजौटाले रकम लिएर भागेपछि कार्तिकमा अधिकारी र तामाङले लगानी गरेर सहकारीको जिम्मा लिएको बताए ।

शनिवार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अधिकारी र तामाङले पीडितहरुलाई तीन महिनाभित्र ७२ लाख रुपैयाँ फिर्ता गर्ने गरी सहमति गरेका छन् । सहकारीका बजार प्रतिनिधिलाई उनीहरुले चेक पनि दिएका छन् । पीडितहरुले बचत रकम सबै फिर्ता मागेपछि तीन महिनाभित्र फिर्ता गर्नेगरी सहमति गरेको तामाङले बताए ।

रजौटाले लगेको ४६ लाख र सहकारीले पीडितहरुको बचतबाट ऋण प्रवाह गरेकाले कुल ७२ लाख तिर्ने गरी सहमति बनेको तामाङ बताउँछन् । रजौटाले पनि अधिकारी र तामाङसँग ४६ लाख रुपैयाँ फिर्ता गर्ने बाचा गरिरहेपनि समयमा नतिरेको तामाङले बताए ।

सहकारीमा सुनिल बानियाँ एक्लैको १२ लाख रुपैयाँ फसेको छ । ३ महिनामो मुद्दतीका लागि सहकारीमा जम्मा गरेकोरकम रजौटाले लिएर भागेको बानियाँले गुनासो गरे । बानियाँ मात्र हैन, हेटौंडामा ज्यालामजदुरी गर्नेदेखि थुप्रै महिलाहरुको रकम हिनामिना भएको हो ।सहकारीको पदमपोखरीमा १ कठ्ठा जग्गा र दुई तले घररहेको छ । सोही जग्गा र घर बिक्री गरेर रकम तिर्ने अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङले सहमति जनाएका हुन् । हजारदेखि १२ लाखसम्म गरेर करिब ८ सय जना बचत कर्ता पीडित बनेको जनाइएको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले सहकारीमा लाखौं रकम हिनामिना भएको विषयमा अनुसन्धान भइरहेको बताए । उनले पीडितहरुकै आग्रह अनुसार पीडकबाट रकम फिर्ता गर्नेबारे छलफल भइरहेको र रकम नदिए कानुन अनुसार कारबाही गरिने जानकारी दिए । हालसम्म १ सय जना पीडित सम्पर्कमा आएको कार्कीले जानकारी दिए ।   (साझाकुराबाट)