२०८१ जेठ ५, शनिबार    

एकराज उप्रेतीको गुनासो : निकुञ्जका कारण साह्रै टेन्सन भयो

२०७८ फाल्गुन १२, बिहीबार ०८:४७ बजे

हेटौंडा/ पर्सा राष्ट्रिय निकुञ्जका कारण विकास निर्माण र राजस्व संकलन प्रभावित भएको गुनासो मनहरी गाउँपालिकाले गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरसँग गाउँपालिकाले राष्ट्रिय निकुञ्जका कारण विकास निर्माण, राजस्व संकलन र स्थानीयबासी मर्कामा परेको गुनासो गरेका छन् ।

‘राष्ट्रिय निकुञ्ज र हाम्रो वीचमा समन्वयको अभाव छ । उनीहरु आफ्नो नियमअनुसार अगाडि बढ्न खोज्छन् । जसको कारण हामीलाई विकास निर्माणको काम गर्न समस्या भइरहेको छ । यस विषयमा हामीले सरोकारवाला पक्षलाई जानकारी गराएपनि कुनै किसिमको सुनुवाइ भएको छैन ।’, गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने ।

उनका अनुसार गाउँपालिकाको राजस्व संकलनको दर निकुञ्जका कारण घट्दो अवस्थामा रहेको छ । ‘निकुञ्जका कारण ढुङ्गागिट्टी, बालुवाको ठेक्का निकाल्न सकिएको छैन । खोलाको सतह बढेको छ । वस्ती डुवान हुनेसम्मको खतराहुँदा पनि चुप बस्न बाध्य भएका छौं ।’, उप्रेतीका अनुसार २७ करोड राजस्व संकलनको लक्ष्य राखेकोमा हालसम्म ८ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

‘राष्ट्रिय निकुञ्जका कर्मचारी तथा सेनाहरु हामीले बनाएको बाटोमा हिँड्ने, हामीले बनाएको पुल चढ्ने अनि हामीलाई नै बन्दुक ल्याएर ठटाउने काम भयो । यो जति टेन्सन हामीलाई कहिले नै भएको छैन ।’, गाउँपालिकाले भने । उनले आफूहरुलाई निकुञ्जले मुद्धा हालेर दु:ख दिने काम भइरहेको बताए । ‘निकुञ्जले मुद्धामाथि मुद्धा हालेर दु:ख दिने काम भयो ।’, उनले भने ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले राष्ट्रिय निकुञ्ज छुट्टै राज्य भएर प्रस्तुतहुँदा समस्या भएको बताए । उनले आफ्नो तर्फबाट धेरै लबिङ्ग गर्दा पनि समस्या समाधान नभएको बताए । उनले लक्ष्य अनुसारको राजस्व संकलन गर्ने वातावरण तयार गर्न आग्रह गरे ।