२०८० चैत्र १६, शुक्रबार    

प्रभावकारी बनेन् छात्रवृति कार्यक्रम, एक करोड फ्रिज

२०७९ श्रावण २९, आईतबार ११:३८ बजे

सरकार र मातहतका कार्यालयको वेवास्ता र सम्बन्धित विद्यार्थीकै कारण बागमतीमा शैक्षिक छात्रवृति कार्यक्रम प्रभावकारी बन्न नसकेको पाइएको छ ।
माघ २०७६ बाट बागमती प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गर्न चाहने छोरी–बुहारीका लागि छात्रवृति दिने भन्दै नयाँ योजनाको अभ्यास सुरु गरेको थियो ।

तर, सम्बन्धित विद्यार्थीहरुकै कारण छोरी–बुहारीलगायतका अन्य छात्रवृति कार्यक्रम प्रभावकारी बन्न नसकेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्र्तगत शिक्षा विकास निर्देशनालयले २०७६ सालमै स्नातक तथा स्नाकोत्तर तहमा अध्ययनरत ४ सय छोरी बुहारीहरुका लागि ‘छोरी–बुहारी छात्रवृति’ कार्यक्रम ल्याएको थियो । विगतकै वर्षदेखि लागू भएको कार्यक्रम गत आर्थिक वर्ष २०७८/०७९ मा भने प्रभावकारी हुन नसकेको पाइएको छ ।

प्रदेशका सामुदायिक क्याम्पसमा अध्ययनरत् छोरी बुहारीहरुलाई शिक्षामा प्रोत्साहन स्वरुप छात्रवृति दिन कार्यक्रम ल्याइपनि छोरी–बुहारीहरुले छात्रवृति पाउन नसकेका हुन् । शिक्षा विकास निर्देशनालय हेटौंडा छात्रबृति कार्यक्रम कार्यान्वयनमा असक्षम देखिएको छ । निर्देशनालयले प्रदेशभरीका क्याम्पसमा स्नातक तह र स्नाकोत्तर तहमा अध्ययनरत् छात्राहरु ९छोरी–बुहारी० लाई छात्रबृति रकम दिने भनेर रकम छुट्याए पनि कार्यबिधि संसोधन हुन नसक्दा रकम पाउनबाट सबै छात्राहरु बञ्चित भएका छन् ।

शैक्षिक छात्रबृति रकम वितरण गर्नका लागि कार्यविधि बाधक भएमा सामाजिक विकास मन्त्रीले कार्यविधि संसोधन गर्न सक्ने व्यवस्था रहेपनि मन्त्रालयकै वेवास्थाका कारण छात्राहरु छात्रवृतिबाट बञ्चित भएका हुन् । प्रदेशभरीका छोरी, बुहारीले पाउने छात्रबृति रकम गत आवमा कसैले पनि प्राप्त गर्न नसकेको निर्देशनालयले जनाएको छ । स्नातक तहमा अध्ययनरत छात्राहरुले पहिलो वर्षको बार्षिक परिक्षा दिएपछि १० हजार रुपैयाँ र स्नाकोत्तर तहमा अध्ययनरत् छात्राहरुले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तर, कोही पनि विद्यार्थी गत आवको परीक्षामा सामेल नभएकाले छात्रवृति रकम वितरण गर्न नसकिएको शिक्षा विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिए । रकम वितरण गर्दा दोहोरोपन हुने भएकाले गत आवमा रकम वितरण गर्न नसकिएको उनको भनाई छ । (साझाकुराबाट)