२०८३ भाद्र १७, बुधबार    

पत्रकार पेन्सन कोषमा उपमहानगरद्वारा ५ लाख सहयोग

२०७८ माघ १८, मंगलबार १२:५३ बजे

हेटौंडा/ उपमहानगरपालिकाले यसवर्ष पनि नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

गतवर्षदेखि सञ्चालनमा रहेको यस कोषमा उपमहानगरपालिकाले यसअघि १० लाख रुपैयाँ सहयोग गरेको थियो । पत्रकार महासंघले २० वर्ष काम गरेका ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक पेन्सन दिन कोष नै स्थापना गरेको थियो । महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई मासिक ४ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको एकवर्ष भइसकेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका पूर्वअध्यक्ष समेत रहेका नवराज शर्माले गत वर्षदेखि पेन्सन सेवा लिइरहेका छन् ।

महासंघ मकवानपुर शाखाले साधारणसभाबाट पेन्सन कोष सम्बन्धी कार्यविधि संशोधनसहित पारित गरेको छ । उपमहानगरले मकवानपुर जिल्लाका एकसय ६४ जना पत्रकारको पाँच लाख रुपैयाँका दरले दुर्घटना वीमा गरिदिएको छ । वीमावापत् तिर्नुपर्ने प्रिमियम रकम एक लाख २२ हजार २ सय ७० रुपैयाँ महासंघ मकवानपुरलाई चेक हस्तान्तरण गरिएको मेयर हरिबहादुर महतले बताए । गत वर्षदेखि उपमहानगरले मकवानपुरका पत्रकारहरुका लागि दुर्घटना वीमा गर्न सुरु गरेको हो ।