मकवानपुरको मनहरी गाउँपालिकामा विगत केही बर्षदेखि स्थानीयबासी र पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधिबीच विवाद हुँदै आएको छ । कहिले स्थानीय राई समुदायले माछा मारेको बिषयमा त कहिले ढुंगा गिटी, वालुवा उत्खनन्को बिषयमा । यस्तैमा पछिल्लो समय काठको बिषयलाई लिएर केही दिनदेखि निकुञ्जका कर्मचारीले गाउँमा ज्यादती गरेको र आतंक सृजना गरेको स्थानीयले आरोप लगाएका छन् ।
मनहरी गाउँपालिका–४ मसिनेमा घर निर्माणको लागि तयार गरिएको ढोकाको चौकोस, गिटी वालुवा झारिएको घरको झ्यालढोका, चौकोस पल्ला लगायतका सामान उठाउँदै झुटो मुद्दा लगाउन खोजिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । स्थानीयको आइतबार बसेको भेलाले निकुञ्ज प्रशासनले दुःख दिन नछोडेमा चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । सामुदायिक वनको रसिद् देखाउँदा पनि निकुञ्जका कर्मचारीले बन्दुक देखाउँदै ज्यादती गरेको उनीहरुको भनाई छ । ‘मसिने–शान्ति मध्यवर्ती सामुदायिक वन समूहका केही पदाधिकारीलाई अनुसन्धानका लागि भनेर पक्राउ गरिएको छ । गल्ती गरेको भए नियम अनुसार कारबाही हुनुपर्छ तर गाउँ नै आतंकित हुने गरी सेना र निकुञ्जका प्रतिनिधि हतियार सहित घरघर छिर्ने अवस्थाको अन्त्य हुनु जरुरी छ’, मसिनको एक अगुवाले भने, ‘आरक्षको दुःख दिने गतिविधि नरोकिए थप समस्या नआउला भन्न सकिन्न ।’ स्थानीयको भेलाले प्राकृतिक स्रोत साधन उपभोग गर्ने सन्दर्भमा सचेतता अपनाउने, घर खानतलासी गर्न आउने कर्मचारीलाई खानतलासी गर्न नदिने निर्णय गरेको छ ।
यस्तै सर्वसाधारणको घरमा खानतलासी गर्दा डर, धाक देखाउने, आतंकित पार्ने, बन्दुक देखाउने, घरगोठमा भएका पुराना दलिन, फलेक उक्काउने लगायको गतिविधि गरिएको भन्दै स्थानीयले यस्तो गतिविधि नरोके सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । निकुञ्जले गरेको ज्यादतीको बिषयमा आइतबार गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, स्थानीय राजनीतिक दलका प्रमुख प्रतिनिधि एवम् विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि राष्ट्रिय निकुञ्जको कार्यालय आधाभार पुगेका थिए ।