२०८१ जेठ १, मंगलबार    

हात जलेको देख्दैनन्, घर बनायो मात्र भन्छन्

२०७८ चैत्र ९, बुधबार १५:०८ बजे

उनले मकै बेच्न थालेको २७ वर्ष भइसक्यो । उनको नाम हो निर्मला विडारी । घर हेटौंडा १, चाइनाक्वाटर । उनले प्रतिवटा१ रुपैयाँ हुँदादेखि पोलेको मकै हेटौंडा बजारमा बेच्न थालेकी हुन् । सुरुसुरुमा मकैको भाउ बढ्दा असाध्यै खुशी लागेपनि अहिले मकैको मूल्य देखेर उनी आफैंलाई सोच्न बाध्य हुन थालेकी छन् । ‘१ रुपैयाँहुँदा पोलेर मकै बेच्न थालेको थिएँ । अहिले ३० रुपैयाँ भइसक्यो ।’, उनले भनिन् ।

उनलाई सुरुसुरुमा पोलेको मकै किनेर कसैले पनि खाँदैनन् जस्तो लाथ्यो । तर, अहिले समय बदलिएको छ । बजारमा पाइने खाजा खान छाडेर पनि मान्छेहरु पोलेको मकै खान थालेका छन् । उनी बाह्रै महिना हेटौंडा बजारमा मकै पोलेर आफ्नो गुजारा चलाइरहेकी छन् ।

‘स्वास्थ्यको हिसाबले मकै राम्रो मानिनेहुदाँ गाडी चढेर आउनेहरु पनि केही समय पर्खेर आजकल हाम्रो ठेलामा मकै किन्न आउँछन् ।’, उनले भनिन्, ‘त्यो देख्दा आफ्नो व्यवसायप्रति खुशी लाग्छ ।’, उनले दैनिक कम्तिमा पनि १०० वटा पोलेको मकै बेच्ने गरेको बताइन् । उनी हेटौंडा बसपार्क क्षेत्रमा बसेर मकै पोल्छिन् । मकै बेच्नेहरुले आआफ्नो एरिया छुट्याएका छन् । उनको एरिया बसपार्क हो ।

‘१२ वर्षकै उमेरमा विवाह भयो । त्यसपछि यस पेशा अँगालेकी हुँ । कतिपटक हात र लूगा पोलेका छन् । गर्मीको समयमा असाध्यै गाह्रो हुन्छ । ठेलामा बसेर काम गर्नुपर्छ । ’, उनको चारजना सन्तान रहेका छन् ।

उनको परिवारले पनि उनलाई साथ दिएका छन् । तीन छोरी र एक छोरोलाई यसै पेशाबाट पढाइरहेको बताइन् । ‘हाम्रो समयमा पढाईको विषय वास्ता हुँदैन थियो । अहिले पढाईको महत्व छ । पढाएकै छु ।’, उनले भनिन् । उनले यसै पेशाबाट घर समेत बनाएको बताइन् । उनको पति टिकट काउण्टरमा काम गर्छन् ।
उनले मकै र कोइला व्यापारीसँग खरिद गर्ने गरेको बताइन् ।