२०८१ बैशाख २४, सोमबार    

बाघ समात्न भैरवडाँडामा ‘क्यामेरा ट्रयापिङ’ जडान

२०७९ कार्तिक १६, बुधबार १७:१० बजे

हेटौंडा–१, भैरवडाँडा क्षेत्रमा देखा परेको बाघ समात्न स्वचालित ट्रयापिङ क्यामेरा जडान गरिएको छ ।

हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपानेको विशेष पहल तथा डिभिजन वन कार्यालय हेटौंडाको सहयोगमा बुधबार दिउँसो भैरवडाँडास्थित वन क्षेत्रमा चार वटा ट्रयापिङ क्यामेरा जडान गरिएको हो । क्यामेराले त्यसक्षेत्रको गतिविधि सुक्ष्मरुपमा कैद गर्नेछ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक रमेश दराईको उपस्थितिमा क्यामेरा जडान गरिएको हो ।

‘हामीले जडान गरेको क्यामेरा दुईदिनपश्चात् हेर्नेछौं । त्यसक्षेत्रमा बाघ भए क्यामेरामा देखिनेछ ।’, वडाअध्यक्ष न्यौपानेले भने । आइतबार बिहान साढे ११ बजे एउटा बाख्रा र एउटा खसीको सिकार गरेको बाघ सोमबार साँझ पनि भैरवडााडा क्षेत्रमा देखिएकाले सोही स्थानमा क्यामेरा जडान गरिएको हो ।

स्थानीयका अनुसार दुई डमरुसहित बाघ देखिएको हो । आइतबार र सोमबार बाघ देखिएपनि मंगलबार र बुधबार भने देखिएको छैन । भैरवडााडास्थित अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरीले पनि बाघ देखिएको पुष्टि गरिसकेको छ । प्रहरीले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।