२०८१ बैशाख ७, शुक्रबार    

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० लाख बेरुजु

२०७९ जेठ १९, बिहीबार २०:२३ बजे

वाग्मती प्रदेशका मूख्यमन्त्री राजेन्द्र पाण्डेले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिले कार्यालयमा एक घण्टा भन्दा बढि कहिल्यै नबस्ने बताएका छन् । 

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिंदै उनले प्रतिष्ठानको उपकुलपतिमाथि अख्तियारमा उजुरीका चाङ रहेको बताउँदै पुरा समय काम गर्न नसक्ने भए विदा लिन पनि सुझाव दिएको जानकारी दिए । उनले उपकुलपति विना जानकारी २ महिना सम्पर्कविहिन भएको बताए । उनले कागजमा ३ सय बेडको लेखेपनि हेटौंडा अस्पतालको काम नबढेको भन्दै पूर्व मूख्यमन्त्री डोरमणि पौडेलको कटाक्ष गरे । 

प्रतिष्ठानमा ५० लाख रुपैंया भन्दा बढिको बेरुजु रहेको र ५५ वटा योजना ५/५ लाख रुपैंयाको बनाएर गैरकानूनी काम गरेको उनले बताए । प्रतिष्ठानका नेतृत्वबाट आफ्ना श्रीमति र नातेदारलाई जागिर लगाएको बताउँदै मूख्यमन्त्री पाण्डेले अघिल्लो सरकारकै पालामा यस्ता गतिविधि भएको उनको भनाई थियो । प्रदेश सरकारले ल्याएको समाजवादी कार्यक्रमबाट नतर्सन समेत सुझाव दिएका छन् । 

उनले समाजवादी कार्यक्रम वडा तहबाटै शुरु गर्ने पुनः दोहोर्याउँदै उनले यो कार्यक्रम आगामी दिनमा यो सबैले सम्झन लायक कार्यक्रम हुने बताए । यो कार्यक्रमको विरोध भन्दा सुझाव दिन उनको आग्रह थियो । उनले विगतमा सिमान्तकृत समुदायको पक्षमा नीति तथा कार्यक्रम ल्याउन तत्कालिन सरकारले नसकेको भन्दै अहिलेको सरकारले सिमान्तकृत वर्गलाई लक्षित गरी नीति तथा कार्यक्रम ल्याएको बताए ।

उनले कर्मचारी अभावका कारण काम अघि बढाउन समस्या भएकाले बजेट खर्च गर्न नसकेको बताए । उनले डिपिआर नभएका योजनामा बजेट विनियोजन गर्ने प्रवृत्तिका कारण पनि बजेट खर्च हुन नसकेको बताए । हेटौंडा औद्योगिक क्षेत्रमा बधशाला निर्माणका लागि अघिल्लो सरकारले ६० लाख रुपैंया दिएको बताउँदै मूख्यमन्त्री पाण्डेले सोधे–‘त्यो बधशाला कहाँ छ ?’