२०८१ बैशाख २३, आईतबार    

वाग्मतीमा ४८ प्रतिशत बालबालिकालाई खोप

२०७८ फाल्गुन ६, शुक्रबार १५:४५ बजे

हेटौंडा/ वाग्मती प्रदेशमा १२ वर्ष देखी १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप ४८ प्रतिशत लगाइएको छ । हेटौंडाबाट खोप अभियानको सुरु भएपछि पहिलो मात्राको खोप ४८ प्रतिशतले लगाइएको प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले बताए ।


हेटौंडामा रेडियो थाहा सञ्चारको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कोरोना रोकथाममा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा बोल्दै मन्त्री लामाले प्रदेशभरमा ९६ प्रतिशतले पहिलो मात्राको खोप र ९५ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेको बताएका हुन् ।


खोप अभियान तीव्ररुपमा सञ्चालन गरिएको, समूदायमा नै पुगी अभियान सञ्चालन गरिएकाले पनि खोप लगाउनेको संख्या वृद्धि भइरहेको उनले बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना रोगले मानवीय क्षति मात्र नभइ अर्थतन्त्रमा समेत क्षति पुगेको बताउदैं मन्त्री लामाले कोभिडको नभइ अन्य सर्ने नसर्ने रोग नियन्त्रण गर्न सरकार तयारी अवस्थामा रहेको बताए । सरकारले स्वास्थ्य क्षेत्र सुधार गर्न कटिवद्ध रहेको र स्वास्थ्यको पूर्वाधारमा पनि सुधार ल्याउन लागिपरेको बताएका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कोरोना कहरका बीच हामीले खोप अभियान, राहत वितरण, खाद्यान्न वितरण, व्यवस्थापन तर्फ ध्यान, लकडाउन, अक्सिजन व्यवस्थापन, सुरक्षा निकाय परिचालन, माक्स अभियान जस्ता विभिन्न कार्यक्रमहरु गरि कोरोना नियन्त्रणमा आफ्नो भूमिका रहेको बताए । यी कार्यहरु गर्न विभिन्न निजी तथा सामाजिक संघरसंस्थाको ठुलो भूमिका रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।


विन्दवासिनी मिडिया प्रा।लिका अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका संरक्षक अजयराज सुमार्गी, स्वास्थ्य कार्यालय मकवानपुर प्रमुख भीमसागर गुरागाई, हेटौंडा अस्पतालका मेसु डा रामचन्द्र सापकोटा, नारायणी संघका प्रवन्धक सरोज खनाल, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, राष्ट्रिय बाल संरक्षण संजालका केन्द्रीय अध्यक्ष प्रकाश खतिवडा, गैसस महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा लगायतले कोरोना रोकथामका विषयमा आफ्ना विचार राखेका थिए ।